शान्तिपूर्ण बहिस्कार नभए कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ५:५४ मा प्रकाशित

madhav-paudelकाठमाण्डु १८ कात्तिक–सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले कानून उल्लघन गर्ने गरी बहिस्कार गरिए सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् । पौडेलले नेकपा–माओवादी मुलुकको जिम्मेवार पार्टी भएकोले उसले निर्वाचन विथोल्ने गरी गतिविधी नगर्ने विश्वास ब्यक्त गर्दै आफूहरुसँग भएको अनौपचारिक कुराकानीमा समेत उनीहरुले बहिस्कार शान्तिपूर्ण हुने बताएको जानकारी दिए ।
“स्वतन्त्र निर्वाचन, लोकतान्त्रिक अभियान” अन्र्तगतको रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने–शान्तिपूर्ण बहिस्कार बहिस्कारबादीहरुको अधिकार हो । सरकारले त्यसको सम्मान गर्छ । बहिस्कार शान्तिपूर्ण हुन्जेलसम्म सरकारले केही गर्दैन कानून उल्लघन गर्न थाले कारवाही गर्छ ।
लामो प्रक्रिया पुरा गर्दै निर्वाचनको अभियान अहिलेसम्म आईसकेकोले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्दै उनले भने–निर्वाचनले लामो प्रक्रिया पुरा गरिसकेको छ । मुलुक निर्वाचनमय भईसकेको छ अब निर्वाचन सार्न सकिदैन ।
निर्वाचन अभियानमा उमेदवार र पार्टीहरुले हजारौ सवारी साधन प्रयोग गरेको अवस्थमा एकाध गाडिमाथि आक्रमण भएको घटनालाई लिएर सुरक्षाको विषयमा प्रश्न उठाउनु जायज नभएको भन्दै सरकारले निर्वाचन केन्द्र र मतदाताहरुलाई मत हालेर घर जाने अवस्था सरकारले सुनिश्चित गर्ने दावी  गरे ।
नेपाली सेना ६४ सालको निर्वाचनबाहेक सबै निर्वाचनमा कुनै न कुनै भूमिकामा रहेको भन्दै नेपाली सेना आफ्नो निर्वाचन सम्बन्धी जिम्मेवारी पुरा गरेर ब्यारेक फर्किने दावी गरे ।
नेपाली सेनाले निर्वाचनमा सुरक्षा गर्न नसक्ने भनि सरकारलाई कुनै प्रतिवेदन नदिएको जानकारी दिदै आफूले यो विषयमा मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी,गृहमन्त्री माधव घिमिरे र रक्षासचिवसँग पनि कुरा गरिसकेकोले बाहिर आएको यो विषय हल्ला मात्रै भएको बताए ।
निर्वाचन संविधानसँग मात्र नजोडीई मुलुकको आर्थिक सामाजिक अवस्थासँग जोडिएकोले माओवादीले बन्द नगर्ने  विश्वास ब्यक्त गर्दै बन्दले नागरिकलाई पनि पीडा हुने भएकोले बन्द नगर्न आग्रह समेत गरे ।
निर्वाचनको सम्पूर्ण तयारी पुरा भएर मतपत्र पठाउने काम भईरहेको जानकारी दिदै सञ्चारमन्त्री पौडेलले सरकारले निष्पक्ष, स्वतन्त्र, धाधली रहित र भयमुक्त रुपमा निर्वाचन गराई छाड्ने दृढता ब्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us