
विराटनगर, १८ कात्तिक -संविधानसभा निर्वाचनलाई हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न गरी देशलाई वर्तमान सङ्कटबाट मुक्त गर्नुपर्ने धारणा मोरङका आममानिसको धारणा छ । साथै संविधानसभा निर्वाचनबाट निर्माण हुने संविधानबाट देशको आर्थिक विकास हुने भएकाले सबैले आ–आफ्नातर्फबाट निर्वाचनमा पूर्णरुपले भाग लिनुपर्ने आवश्यकता रहेको औंल्याइएको छ ।
नेपालीहरुको महान पर्व तिहार तथा छठ पर्वको अवसरमा उद्योग संगठन मोरङद्वारा आयोजित शुभकामना आदानप्रदान समारोहमा सहभागी उद्योगी व्यापारी तथा स्थानीय समाजसेवीले यस्तो धारणा राखेका हुन् । सहभागी अधिकांश उद्योगी तथा व्यवसायीहरुले संविधान निर्माण नभएका कारण देशमा अशान्ति, चन्दा आतङ्क, बेरोजगारी बढ्दै गएको र त्यसबाट मुलुक समस्यामा परेको समेत गुनासो गरे ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आसन्न संविधानसभा निर्वाचनमा पूर्ण शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले समारोहमा सहभागीहरुलाई स्वागत गर्दै संविधानसभा निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरे । रासस