सबैभन्दा बढि आचारसंहिता एमालेबाट उल्लंघन

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ३:०८ मा प्रकाशित

CPN-UMLअर्घाखाँची, १८ कात्तिक–अर्घाखाँचीका प्रमुख राजनीतिक दल र तिनका उम्मेदवारले नै संविधानसभा निर्वाचन आचारसंहिताको खिल्ली उडाएका छन् ।

जिल्लाका प्रमुख तीन दलले नै आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् । एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार तथा नेताहरुको विरुद्ध आचारसंहिता विपरीत प्रचारप्रसारका काम गरेको भन्दै उजुरी परेका हुन् ।

सबैभन्दा बढी उजुरी नेकपा एमाले क्षेत्र नं २ का उम्मेदवार डा. दुमनसिंह थापा विरुद्ध परेको छ । थापाका विरुद्धमा ठाडा र नुवाकोटमा डोजर प्रयोग गरेर मोटरबाटो निर्माण गरेको, पाइप वितरण गरेको, रङ्गिन पोस्टर, होर्डिङबोर्ड प्रयोग गरेको र बढी गाडी प्रयोग गर्नुका साथै बढी आवाज आउने माइक राखी प्रचारप्रसार गरेको आरोपमा उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले बताएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं १ का उम्मेदवार डा. रामबहादुर विसीको विरुद्धमा गाउँगाउँमा भोट माग्न निःशुल्क बिरामी जाँच्ने र औषधि वितरण गर्दै आचारसंहिता उल्लङ्घन गर्दै हिँडेको आरोपमा उजुरी परेको छ ।

एकीकृत नेकपा माओवादीले तोकिएको साइजभन्दा ठूला पोस्टर प्रयोग गरेको र क्षेत्र नं १ का उम्मेदवार टोपबहादुर रायमाझीले अर्घा–७ देखि ९ वडासम्म जाने मोटरबाटो खनी आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको छ ।

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेपछि नेकपा एमालेका बारेमा  जिल्ला अध्यक्ष चेतनारायण आचार्यलाई, नेपाली काँग्रेसको बारेमा जिल्ला सचिव वासुदेव आचार्यलाई र एनेकपा माओवादीका बारेमा नेता टोपबहादुर रायमाझीलाई जानकारी गराई, आचारसंहिता विपरीत भएका कार्य रोकी आचारसंहिता विपरीत भएका कार्य तत्काल रोक्न भनिसकेको सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us