आज गोबर्द्धन पूजा,नेवार समुदायले म्हःपूजा गर्दै

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ३:०२ मा प्रकाशित

goru_pujaकाठमाण्डु, १८ कात्तिक – यमपञ्चकको चौथो दिन सोमबार नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्द्धन पूजा गरि मनाउँदैछन् । नेवार समुदायले भने म्हःपूजा गर्दैछन् । आज नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्द्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।

कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ । गाईबस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुयाउने भएकाले पर्वतको प्रतिनिधि गोबर्द्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाउँघरमा घरदेखि गोठसम्म तोरण टाङ्ने गरिन्छ ।

द्वापरयुगमा भगवान श्रीकृष्णले आफ्नै हातले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई बर्षा र डुबानबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोबर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ ।

त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आफ्नै शरिरको पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us