संबिधानसभा निर्वाचनबाट मुलुकले निकास पाउने राष्ट्रपतिको बिश्वास

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ५:२२ मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु १८ कात्तिक–राष्ट्रपति डा. रामवरण यादवले प्रत्येक नेपालीले आफ्नो दायित्व पूरा गर्दै आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचन सम्पन्न गरी मुलुकलाई निकास दिन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्रिय एकता र अस्मिताको संरक्षण गर्नु हरेक नेपालीको कर्तव्य रहेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले नववर्ष नेपाल संवत् ११३४ का अवसरमा दिएको शुभकामना सन्देशमा भनिएको छ “नेपाल संवत् ११३४ ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्नाका साथै आपसी समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न सफल हुनेछ भन्ने आशा लिएको छु ।”

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान समयमा नेपालमा राजनीतिक स्थायित्व कायम गरी हाम्रो भावना र आवश्यकतालाई सम्बोधन गर्ने संविधान निर्माण गर्नु अपरिहार्य भएको बताएका छन । यसका लागि आगामी मङ्सिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सफल बनाउनु अहिले आफूहरुको एकमात्र उद्देश्य बनेको उनले बताएका छन ।
स्वतन्त्र, स्वच्छ र निष्पक्ष रूपमा हुने निर्वाचनमा आफ्नो संविधानप्रदत्त मताधिकारको प्रयोग गरी निर्वाचनलाई सफल बनाउन समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई रेग्मीले नववर्ष नेपाल संवत् ११३४ का अवसरमा दिएको शुभकामना सन्देशमा भनिएको छ “नेपालमा मनाइँदै आएका विभिन्न पर्वमध्ये राष्ट्रिय विभूति शङ्खधर साख्वाःले थालनी गरेको नेपाल संवत्को नेपाल भाषा र मूलतः नेवारी समुदायका जनताबीच विशेष अर्थ र महत्व रहेको छ,। बहुसाँस्कृतिक राष्ट्र नेपालमा प्रचलनमा रहेका विविध पर्व समाजमा साँस्कृतिक विशेषताका रूपमा स्थापित हुनाका साथै देशको सामाजिक तथा आर्थिक रूपान्तरणको प्रक्रियामा पनि महत्व राख्ने विषय हुन् ।”
नेपालका विभिन्न समुदाय शान्ति, सद्भाव र एकता कायम गर्दै अघि बढून् तथा  नेपाल संवत् ११३४ बाट सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामनाका साथ समस्त नेपालीका सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना पनि उनले शुभकामना सन्देशमा गरेका छन ।

नव वर्ष नेपाल सम्वत् ११३४ सोमबारदेखि शुभारम्भ भएको छ । नव वर्षको पहिलो दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ ।DSC_6923
ल्याय्म्ह पुचः थिमिले शङ्खधर साख्वाःचोक थिमिमा विभिन्न कार्यक्रमको आयोजना गरी नव वर्ष मनाउँदै छ । नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

नेपाल सम्वत् कुनै जाति विशेषको नभई समस्त नेपालीको मौलिक सम्वत् हो । नेपालमा विसं २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल सम्वत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us