सिरियामा युद्धले उद्योग क्षेत्रलाई दुई अर्ब बीस करोड क्षति

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ४:०० मा प्रकाशित

दमासकस, कात्तिक–सिरियाली औद्योगिक क्षेत्रले मुलुकमा चलेको ३१ महिना लामो युद्धका कारण दुई अर्ब २० करोड अमेरिकी डलर बराबर गुमाएको छ । उद्योगमन्त्री कमलेद्दिन तोहमले आइतबार एक विज्ञप्ति प्रकाशन त्यस्तो जानकारी दिएका हुन ।
सरकार समर्थक अल–वतन पत्रिकाले मन्त्री टोहमको भनाइ उद्धरण गरी औद्योगिक क्षेत्रले अक्टोबरसम्म तीन सय ३६ अर्ब सिरियाली पाउन्ड अर्थात २.२ अर्ब अमेरिकी डलर गुमाएको उल्लेख गरेको छ ।
उनले निजी क्षेत्रका उद्योगले १.५ अर्ब अमेरिकी डलर बराबर गुमाएको तथा सार्वजनिक उद्योगले ७० करोड अमेरिकी डलर बराबर गुमाएको उल्लेख गरेका छन । उनले यो अङ्कमा विद्रोहीले नियन्त्रणमा लिएको भूभागको उद्योगको अवस्था नसमेटिएको बताए ।
सिरियाको युद्धमा हालसम्म एक लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति आफ्नो घर छोड्न बाध्य भएका छन ।
यस युद्धले अर्थतन्त्रलाई नष्ट बनाएको छ भने मुद्रास्फीति निकै बढेको छ । संयुक्त राष्ट्र सङ्घले सिरियाका आधाभन्दा बढी जनसङ्ख्या हाल गरिबीको रेखामुनि बाँच्न बाध्य रहेको जानकारी दिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us