आचारसंहिता उल्लङ्घन गरेको भन्दै एफएम रेडियोविरुद्व उजुरी

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १५:३५ मा प्रकाशित

बझाङ, १७ कात्तिक–स्थानीय साइपाल एफएम रेडियोले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आइतवार उजुरी परेको छ ।
शनिबार राति ८ बजे साइपाल एफएमबाट प्रसारण भएको समाचारमा एकीकृत नेकपा (माओवादी) बझाङ जिल्ला क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार देवराज रेग्मीको चरित्र हत्या हुने गरी समाचार प्रसारण गरेको भन्दै एमाओवादीले उजुरी दिएको हो ।
एमाओवादी जिल्ला संयोजक जनक बुढाले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो एफएमले पटकपटक संविधानसभा विरोधी तत्वको पक्षमा गीत बजाएको र एमाओवादीविरुद्व कुप्रचार गरी निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन गरेको भन्दै कडाभन्दा कडा कारबाहीको माग गरेका छन ।
उक्त एफएमबाट प्रसारित समाचारको रेकर्डसहितको उजुरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको संयोजक बुढाले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले निर्वाचन कार्यालयमा परेको उजुरी प्रमाणित भए निर्वाचन आचारसंहिता २०७० अनुसार कारबाही हुने बताए ।
यसैबीच, पत्रकार महासङ्घ बझाङ शाखाले सो समाचारमा साइपाल एफएमले जिल्लाका क्रियाशील सबै पत्रकारलाई लक्ष्यित गरी अभद्र शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us