चुनावका लागि ३२३ अस्थायी मतदान केन्द्र कायम

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका तीन गरी ५७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्रदान गरेको छ ।
आयोगले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म अन्तर्राष्ट्रिय संस्थातर्फ २२५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिइसकेको र  ३० वटा राष्ट्रिय पर्यवेक्षक संस्थाबाट पाँच हजार ५८७ जना पर्यवेक्षक परिचालित भएको जानकारी दिएको हो ।
यस्तै आयोगले ३२३ अस्थायी मतदान केन्द्र कायम गरेको छ । सरकारी कार्यालय, स्थानीय निकाय, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति, कारागारमा रहेका कैदी र थुनुवा, वृद्धाश्रममा रहेका व्यक्ति, मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न मुलुकभरका लागि ३२३ स्थानमा अस्थायी मतदान केन्द्र तोकिएका छन् ।
यस्तै निर्वाचन आचारसंहिताको पालन भए नभएको सम्बन्धमा छानबिन गर्दा काठमाण्डुको क्षेत्रपाटी, क्षेत्रपाटीबाट हनुमानढोका जाने बाटो, भाटभटेनी, हाँडीगाउँ, धुम्बाराही, बसुन्धरा, सुकेधारा, सामाखुशी आदि स्थानमा बिजुलीका खम्बालगायतका सार्वजनिक स्थलमा विभिन्न राजनीतिक दलका पम्प्लेटहरु टाँसिएको भेटिएकाले हटाउनका लागि स्थानीय प्रहरी युनिटलाई निर्देशन दिइएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
त्यस्तै नरदेवी चोक, हाँडीगाउँ कृष्ण मन्दिर, धुम्बाराही पीपलबोट, बसुन्धरा चोक, सामाखुशीको कपुरधारा चोक, गल्कोपाखालगायतका स्थानबाट नेकपा (एमाले), नेपाली काँग्रेस, एमाओवादी, राष्ट्रिय यथार्थवादी पार्टीका झण्डा, ब्यानर, तुल, पोस्टर, ध्वजापताका हटाइएको उनले बताए ।
यस्तै काठमाण्डु–१ मा जनमोर्चा नेपालका उम्मेदवार प्रेमराज बासुकला र शिवशरण शाहीले फोटोसहित मल्टिकलर व्यानर टाँगेकाले हटाउन लगाइएको र काठमाण्डु –६ मा सङ्घीय समाजवादी पार्टी नेपालका उम्मेदवार केशव स्थापितको मल्टिकलरको ठूलो आकारको होर्डिङ बोर्ड हटाइएको समेत प्रवक्ता राईले जानकारी दिए ।
उता सर्लाही क्षेत्र नं ४ मा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दलले विद्यालय पढ्ने बालबालिकालाई दलको झण्डा बोकाई प्रचारप्रसार गराएको भन्ने उजुरीमा निर्वाचन अधिकृतको कार्यालयबाट उक्त दललाई पत्र पठाई वास्तविक विवरण मागेको  उनले बताए ।
तनहुँ क्षेत्र नं २ मा उदय उमाविका प्राचार्य नवराज वाग्लेले नेपाली काँगे्रसलाई जिताउन भाषण गरी भोट मागेको भन्ने उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिल्ला शिक्षा कार्यालय तनहुँलाई कारबाहीका लागि पत्र पठाएको र सिन्धुली क्षेत्र नं २ मा सङ्घीय समाजवादी पार्टी नेपालका उम्मेदवार सुरेन्द्र मोक्तानले बहुरङ्गी पर्चा छपाई प्रचारप्रसार गरेकामा सम्बन्धित उम्मेदवारलाई पत्र लेखी सचेत पारिएको जानकारी पनि उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us