केन्टकी नेपाली समाजद्वारा परोपकार अनाथालयलाई आर्थिक सहयोग

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–अमेरिकाको केन्टकी राज्यमा बसोबास गर्ने नेपालीहरूले आज नेपालको सबैभन्दा जेठो सामाजिक संस्था परोपकारले सञ्चालन गरिरहेको अनाथालयलाई करिब तीन लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।
लक्ष्मीपूजाका दिन पारेर आइतवार आयोजित एक कार्यक्रममा ‘केन्टकी नेपाली सोसाइटी’ का प्रतिनिधि प्रवीण मानन्धरले उक्त सहयोग परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहलाई हस्तान्तरण गरेका हुन । उनले यस्तो सहयोग जारी रहने जानकारी पनि दिए ।
यो संस्थालाई यस कार्यका लागि निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार अमरबहादुर श्रेष्ठले अभिप्रेरित गरेका हुन । समाजका अध्यक्ष मुक्तिमदन श्रेष्ठको पहलमा यसअघि जोमसोम जिल्लाका सरकारी विद्यालयका बालबालिकालाई लुगा वितरण गरिएको थियो ।
श्रेष्ठले हाल नेपालका घरहरूमा बुढाबुढी र बालबालिका मात्र देखिन थालेको र करिब २५ लाख नेपाली विदेशमा बसोबास गरेको जानकारी दिँदै उनीहरूलाई वर्षमा दस अमेरिकी डलर सामाजिक सेवामा उपलब्ध गराउन मनाउन सकिए समाज सेवामा दुई करोड ५० लाख रूपैयाँ प्राप्त हुनसक्ने जानकारी दिए ।
आर्थिक सहयोग ग्रहण गर्दै परोपकारका अध्यक्ष हितकरवीर सिंहले उक्त रकम अनाथ बालबालिकाको स्याहार, पालनपोषण तथा शिक्षामा खर्च हुने जानकारी दिए ।
कार्यक्रममा परोपकार अनाथालयका महासचिव डा डम्बरबहादुर नेपालीले परोपकार संस्थाको सम्पत्तिको रूपमा जग्गाजमिन धेरै भएपनि घर जस्ता आधारभूत संरचना पुरानो भएको र हाल यसको सञ्चालन तथा नयाँ कार्यक्रममा आर्थिक समस्या देखिन थालेको बताए ।
कार्यक्रममा परोपकार संस्थाका कायबहादुर नेपालीले २००९ सालमा परोपकार अनाथालय स्थापना भएको बताउँदै पहिलो २५ जना अनाथ बालबालिका रहेको परोपकारमा हाल ५० जना बालक र बालिकाका लागि छुट्टै व्यवस्था गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us