संविधानसभामा पूरानै पात्र र प्रबृत्ति दोहोरिने चिन्ता

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–विगतको संविधानसभामा  देखिएका विसङ्गति आगामी संविधानसभामा पनि दोहोरिन सक्नेमा राजनीतिशास्त्री तथा संविधानविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
संविधानसभा निर्वाचन नजिकिँदै गर्दा भोलिका दिन पनि उही पात्र र प्रवृत्तिको पुनरावृत्ति हुनु, सरकार बनाउने र ढाल्ने खेल दोहोरिने सम्भावना विद्यमान हुनु,विषयगत विशेषज्ञलाई सभासद्मा स्थान नदिइनु र संविधानसभामा पुरानै संरचना पुनरावृत्ति हुने देखिएकाले उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
पूर्व सभामुख दमननाथ ढुङ्गाना भन्छन“विगतका गल्तीबाट पाठ सिकेर अघि बढनुपर्नेमा दलहरू अझ गल्तीमाथि गल्ती गर्दै गइरहेका छन् ।”
“संविधान बनाउन दुई वर्षका लागि संविधानसभामा गएका दलहरूले चार वर्षसम्म लम्व्याउँदा पनि संविधान बनाउन सकेनन् र फेरि पनि चार वर्ष नै संविधानसभाको आयु लम्ब्याउन लागिपरेको देखिँदैछ”, उनी भन्छन ।
कस्तो खालको संविधान बनाउन कस्ता खालका व्यक्तिलाई सभासद्मा प्रतिनिधित्व गराउने भन्दा पनि आफू नजिकका क–कसलाई सभासद् बनाउने भन्ने विषयमा नै शीर्ष नेताहरू केन्द्रित रहेको संविधानविद् डा. सूर्य ढुङ्गेलको गुनासो गर्छन ।
उनका अनुसार शासकीय स्वरूप, सङ्घीयता, संसदीय प्रणालीलगायतका विषयमा आ–आफ्नै अडानलाई दोहा¥याउनु अर्को चिन्ताको विषय भएको छ ।
मिश्रित शासकीय स्वरूप अपनाउने सहमति भइसकेको, सङ्घीयताका विषयमा सहमति नजिक पुगिसकेको र जातीय राज्य तथा आत्मनिर्णयको अधिकारका विषयमा संविधानसभामा त्यति ठूलो कुरा नउठेको अवस्थामा पुनः राजनीतिक दलहरूले आ–आफ्ना  घोषणापत्रमा पुरानै अडानलाई यथावत प्रस्तुत गर्दा भोलिका दिन सहमति बन्न कठिन हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ उल्लेख गर्छन ।
विघटित संविधानसभाका सभापति नीलाम्बर आचार्य हिजो संविधानसभामा देखिएका वैचारिक र संरचनागत त्रुटि यथावत रहनु र हिजोको निर्वाचन प्रणालीको प्रक्रिया यथावत रहनु स्वाभाविक नभएको बताउछन ।
राम्रो संविधान बनाउनेभन्दा पनि दलीय प्रस्तावलाई बहुमतले पारित गराउन विगतमा झैं ६०१ कै प्रतिनिधित्व गराइएकोमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ असन्तोष जनाउँदै भन्छन,“सभासद्को सङ्ख्या ठूलो पारिनु, संविधानसभाको गुणस्तरीयतामा ध्यान नदिइनु,  प्रभावकारी काम नगरिनु र क्षेत्रीय, जातीय तथा साम्प्रदायिक दललाई प्राथमिकता दिनुजस्ता कारण अघिल्लो संविधानसभाको बनावट नै राम्रो थिएन ।” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us