निर्वाचन व्यवस्थापनको अन्तिम तयारी

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १२:४७ मा प्रकाशित

काठमाण्डु,१७ कात्तिक–मङ्सिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि व्यवस्थापनको दृष्टिकोणले निर्वाचन आयोगले अहिले अन्तिम तयारीको काम गरिरहेको छ । Dolakh-Bahadur-Gurung
केही जिल्लाका मतपत्र र नामावलीसहित आयोगले निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । कतिपय जिल्लामा सामग्री पुग्न थालिसकेको छ । जिल्लास्तरमा मतदान केन्द्रका लागि कर्मचारी छनोट गर्ने तालिम दिने, सामग्री बुझाउने र खटनपटन गर्न मात्र बाँकी छ ।
“संंविधानसभा निर्वाचनको व्यवस्थापनको दृष्टिकोणले अब अन्तिम तयारी भइरहेको छ, अर्थात् आयोगले तयारीको बिट मार्ने काम गर्दैछ,” निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने ।    आयुक्त गुरुङले निर्वाचनको तयारी यस अर्थमा अब एकप्रकारले स्थानीयस्तरमा मात्र बाँकी रहेको र मतदान केन्द्रमा गएर मतदाताको अभिमत जुन प्राप्त हुन्छ त्यो बोकेर आउन बाँकी रहेको बताए ।
आयुक्त गुरुङले केही समयअघि रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, चितवनका जिल्लाको भ्रमण गरेर फर्केका थिए । सो भ्रमणका क्रममा मुख्य निर्वाचन अधिृकत, सुरक्षा निकाय, मतदाता, राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट छलफल गरेका थिए । भ्रमणका क्रममा जनताहरू निर्वाचनमा मतदान गर्न अत्यन्त आतुर रहेको पाएको उनले बताए । उनका अनुसार जताततै निर्वाचनमय वातावरण देखिएको छ । उनले भने ‘जनता र राजनीतिक दलका नेता उम्मेदवार जनताको घरदैलोमा पुगेका छन् पुग्दैछन् ।’ जनताहरु छिटो निर्वाचन भएर देशमा राजनीतिक स्थिरता, शान्ति र मुलुक विकासको बाटोमा जाओस् भन्ने चाहना राखेको पाएको पनि आयुक्त गुरुङको बुझाइ थियो ।
आयुक्त गुरुङले प्रत्येक जिल्लामा सुरक्षासँग सम्बन्धित पदाधिकारी निर्वाचनका लागि सुरक्षाको वातावरण सुदृढ बनाएर सफल बनाउन आफ्नो सम्पूर्ण व्यवस्था गरी जनशक्तिसमेतको खटनपटनको तयारीसहित जिल्लास्तरमा भयमुक्त वातावरण बनाउन उच्च मनोबलका साथ प्रतिबद्ध रहेको पाएको बताए ।
“निर्वाचन शान्तमय वातावरणमा सम्पन्न बनाउन उनीहरू आफ्ना सबै तयारी पूरा गरेर सोहीअनुसारको योजना तयारी गरी कार्यान्वयन गर्ने कामहरू गरिराखेको पाए, निर्वाचनमा मतदाताको सर्वोपरि महत्व हुन्छ मतदाता एकप्रकारले दल र उम्मेदवारका लागि भगवानै हुन्, त्यसैले घरदैलोमा गएर आदर सम्मानपूर्वक मत माग्ने काम हुँदैछ,” आयुक्त गुरुङले भने ।
आयुक्त गुरुङले फाट्टफुट्ट घटनाहरू घटेपनि त्यसले प्रतिकूल प्रभाव पारेको छैन भन्दै दल र आयोगबीच समन्वय भएको बताए । “आचारसंहितामा पनि मैले घुमेको जिल्लामा कहीँ कतैपनि भित्तेलेखन, ब्यानरिङ, माइकिङ भएको देखिएन, भएका जिल्लामा पनि सचेत गराएपछि हटाइएको अवस्था छ,” उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us