
धनकुटा, १७ कात्तिक–राजनीतिक दलमा चुनावी चटारो बढिरहेका बेला धनकुटाका दुर्गम गाउँलाई भने चुनावले छुन सकेको छैन । राजनीतिक दलले सुगम क्षेत्रलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गर्न थालेपछि दुर्गम गाउँलाई चुनावले छुन नसकेको हो ।
जिल्ला अस्पताल धनकुटामा उपचारका लागि आएकी भीरगाउँ ६ निवासी ५४ वर्षीया धनकुमारी पिठाकोटेले भनिन, “गाउँतिर चुनावको चहलपहल खासै देख्दिनँ, नेता गाडी जाने ठाउँमा मात्रै जान्छन् ।” उनले अहिलेसम्म कोही पनि भोट माग्न गाउँतिर नआएको बताइन ।
मारेककटहरे गाविस निवासी २६ वर्षीया गङ्गादेवी गुरुङले पनि अझैसम्म गाउँमा कोही पनि नआएको बताइन । उनले भनिन, “खै हाम्रातिर त चुनाव खासै लागेको छैन, कोही पनि आएका छैनन् गाउँमा ।”
जिल्लाकै दुर्गम गाविस मानिने ६ नम्बर बुधबारे गाविसमा पनि चुनावले खासै नछोएको त्यहाँका स्थानीयले बताएका छन् । प्रायः लिम्बू, नेवार र मगर सम्प्रदायको बसोबास रहेको सो क्षेत्रमा दुर्गम भएकाले त्यहाँ चुनावी कार्यक्रम नपुगेको हो ।
यहाँका स्थानीय बुद्ध लिम्बुले भने,“राजनीतिक दलहरूले बढी मात्रामा सुगम स्थानलाई प्राथमिकतामा राख्ने भएकाले दुर्गम गाउँहरू सुनसान बनेका छन् ।”
दुर्गम गाउँमा पुगेर भने जस्तो चुनावी अभियान सञ्चालन गर्न नसकेको नेपाली कांँग्रेस धनकुटा क्षेत्र नं–२ का उम्मेदवार आनन्दसन्तोषी राईले बताए । उनले भने,“दुर्गम क्षेत्रका गाउँगाउँमा उम्मेदवारमाथि असुरक्षा हुने भएकाले पनि पुग्न सकिरहेका छैनौँ, तर काँग्रेसले दुर्गम क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आएको छ ।”
धनकुटा सदरमुकामका बाहेक जिल्लाका सुगम क्षेत्र र मानिसको चहलपहल हुने स्थानमा चुनावी माहोल बढेको नेकपा (एमाले) धनकुटा क्षेत्र नं– २ का उम्मेदवार राजेन्द्र राईले बताए । रासस