झडपमा ६ प्रहरी घाइते,४९ वाइसिएल पक्राउपछि रिहा

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ११:२२ मा प्रकाशित

डोल्पा, १७ कात्तिक–प्रहरी र वाइसिएलका कार्यकर्ताबीच शनिबार राति सदरमुकाम दुनैमा झडप हुँदा ६ जना प्रहरी जवान सामान्य घाइते भएका छन् ।
    सदरमुकाममा सामूहिक रूपमा हिँडेका उनीहरूलाई प्रहरीले राति नहिँड्न आग्रह गरेपछि झडप भएको हो ।
     झडपमा संलग्न ४९ जना वाइसिएलका कार्यकर्तालाई प्रहरीले शनिवार राति नै नियन्त्रणमा लिएको थियो ।
    जिल्ला सुरक्षा समितिको आइतवारको बैठकले जनही पाँच सय रुपैया जरिवाना लिई छाडिदिने निर्णय गरे अनुसार उनीहरूलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

एमाले र काँग्रेस कार्यकर्ता बीच झडप

जिल्लामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकताबीच झडप भएको छ ।

गाउँमा काँग्रेस हुम्लाका प्रत्यक्ष उम्मेदवार जीवनबहादुर शाही नेतृत्वको टोली घर दैलो कार्यक्रम गर्न जाँदा एमाले समानुपाति उम्मेदवार कल बहादुर हमालको नेतृत्वको टोलीले गाँउको माथिबाट ढुङ्गा प्रहार गरेपछि दुवै पक्षबीच झडप शुरु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक डा मेखबहादुर खत्रीले जानकारी दिए ।

प्रनाउ खत्रीका अनुसार झडपमा एमालेका दुईजना कार्यकर्ता घाइते भएको छ । काँग्रेसले आफ्नो घरदैलो कार्यक्रमलाई प्रभाव पार्न योजनावद्धरूपमा एमाले कार्यकर्ताले ढुङ्गा मुढा गरेको नेपाली काँग्रेस पार्टी हुम्लाले आरोप लगाएको छ । झडपपश्चात् काँग्रेसको चुनावी प्रचार अभियान टोलीबाट मदना गाविसतिर लागिसकेको प्रहरीले जानकारी दिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले झडपपछि जिल्लामा सम्पूर्ण राजनैतिक दलहरूसंँग बैठक बसेर चुनाव प्रचारप्रसारमा संयमित भएर लाग्न निर्देशन दिएको जानकारी दिनुभयो । प्रजिअ आचार्यका अनुसार हुम्ला जिल्लाको अहिलेको अवस्था सामान्य रहेको छ ।

चितवनमा एमाले कार्यकतामाथि आक्रमण

चितवनमा चुनावी घरदैलोका क्रममा नेकपा (एमाले)का दुई कार्यकर्तामाथि आइतवार आक्रमण भएको छ ।
रड र छुरी प्रयोग गरी एक समूहले आक्रमण गरेको एमाले चितवनका अध्यक्ष जेएन थपलियाले बताए ।
चितवन क्षेत्र नं–४ की उम्मेदवार दिलकुमारी रावलको चुनाव प्रचारका क्रममा रहेका बेला मङ्गलपुर–६ शरणपुरमा एक समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको एमाले चितवनले जनाएको छ ।

आक्रमणमा परी एमाले चितवनका जिल्ला सदस्य प्रकाश ढुङ्गाना र अर्का क्षेत्रीय सदस्य विश्वेश्वर न्यौपाने घाइते भएका छन् । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको थपलियाले बताए । घाइतेहरूको ढाडमा गम्भीर चोट लागेको छ ।

चितवन प्रहरीले भने आक्रमण गर्नेको खोजी भइरहेको र कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us