पाँच वर्षपछि फूल्यो सयपत्री

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते २:२९ मा प्रकाशित

Sayapatriसोलुखुम्बु, १७ कात्तिक–हिमाली जिल्ला सोलुखुम्बुमा पाँच वर्षपछि सयपत्री फूल फूलेको छ । बितेका चार वटा तिहारमा सयपत्री फूल नहुँदा भाइटीकाको दिन भाइ पुज्नसमेत नपाएका सोलुवासीले यस वर्षको तिहारमा सयपत्रीको फूलको मालाले घरका झ्याल ढोकामा समेत झकिझकाउ बनाउन पाएका छन् ।

सयपत्री फूलको बोट कुहिने रोगका कारण बितेका चार वर्षसम्म जिल्लाभर सयपत्री फूलेन । सल्लेरीस्थित साप्ताहिक हाटमा फूल बेच्दै गरेका तिङ्लाका गोपाल सुनुवार भन्छन्, ‘बितेका चार वर्ष एक थुङ्गा फूल फुलेन, यो वर्ष त आफूले प्रयोग गर्नेमात्र हैन बेचेर पनि नसकिनेगरी फूलेको छ ।’

फूलको अभावमा गएका तिहारमा घरका झ्यालढोका सजाउनका लागि प्लास्टिकको फूलको व्यापार फस्टाएको थियो । तर यस वर्ष भने सयपत्री फूल पाएपछि ग्राहकको रोजाइमा प्लास्टिकको फूल कम परेको छ । सल्लेरीमा प्लास्टिकका फूल बेच्दै आएका राम दास भन्छन्, ‘पोहोरको जस्तो ठानेर प्लास्टिकका फूल धेरै ल्याएको तर यो वर्ष नबिक्नेभयो ।’

प्लास्टिकका फूल बिक्री नभए पनि सयपत्रीले धेरैलाई हौस्याएको छ । फूल किन्दै गर्दा सल्लेरीकी शान्ति घिमिरेले भनिन्, ‘पोहोरको तिहारमा त एक थुङ्गा सयपत्रीलाई १०० रुपैयाँ तिर्छुभन्दा पनि पाइएको थिएन, भाइलाई अरु नै फूलले पुज्नुपरेको थियो, तर यो वर्ष त किन्न चाहेजति फूल पाइएको छ, त्यो पनि सस्तोमा ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us