दीयोको बिक्री बढ्यो

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते २:१२ मा प्रकाशित

diyo-tiharविराटनगर, १७ कात्तिक–उज्यालोको पर्व तिहारको अवसरमा मोरङमा माटोका सामग्रीको बिक्री तीव्र रुपमा भइरहेको छ । लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म घरमा दीयो बाल्नुपर्ने भएकाले नै मानिसहरुले यी सामग्री खरिद गर्ने गरेका छन् । माटोका सामग्रीमा दियो, चारमुखी, कलसजस्ता सामान अत्यधिक बिक्री हुने गरेको छ ।

माटोका भाँडावर्तन बनाउने पेसा अङ्गालेका कुमालेले तीन महिना पहिलेदेखि सामान बनाउने र पर्व नजिक आएका बेला बजारमा लगेर बिक्री गर्ने गरेको व्यापारी सौदागर पण्डितले बताए । पण्डितले विराटनगरमा अहिले १२ हजार दियो, २०० चारमुखी, १५० घैला र ३०० थान गमला बिक्री गर्न ल्याएका छन् ।

दीयो केही दिन पहिले एक सयको ७० रुपैयाँमा बिक्री हुन्थ्यो भने अहिले एक सयको १०० रुपैयाँमै बिक्री भइरहेको बताइएको छ । बजारमा आपूर्तिभन्दा पनि माग बढेकाले दियोको मूल्य बढेको व्यापारीहरु बताउँछन् । यस्तै कलश जोडीको ३०, गमला प्रतिगोटा ८० र चारमुखी १० रुपैयाँमा बिक्री भइरहेको छ ।

यी सामान बिक्री गर्न विराटनगरमा २०० भन्दा बढी व्यापारी आएका छन् भने कतिपय व्यापारी भारतीय पनि छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us