
काठमाण्डु, १७ कात्तिक– राष्ट्रपति डा. रामवरण यादवले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सबै नागरिक सचेत भई राष्ट्र र राष्ट्रियताको निमित्त सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेका छन् । दीपावली तथा तिहारको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले यस पर्वले समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडका रूपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सदभाव एवम् एकता कायम गर्ने उल्लेख छ ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले दिएको शुभकामना सन्देशमा राष्ट्रिय आवश्यकता र आम नेपालीको चाहनाको प्राथमिकतामा संविधान नै बहुप्रतिक्षित विषय रहेको उल्लेख गर्दै निकट भविष्यमा नै सम्पन्न हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनबाट देशले जनचाहना अनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ । स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् तथा राजनीतिक क्षेत्रको गतिरोधलाई शुभ दीपावलीको उज्यालोले सदाका लागि समाप्त गरी देश र विदेशमा रहेका सबै नेपालीहरूलाई सुख, शान्ति र समृद्धि प्रदान गरोस् भनी उपराष्ट्रपतिले कामना गरेका छन् ।
यसैगरी, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनबाट मात्रै नेपालमा नयाँ युगको द्वार खुल्ने बताएका छन् । चुनाव नै समस्त नेपालीको शान्ति र विकासको चाहनालाई सुनिश्चित गर्ने अवसर भएकाले स्वतन्त्र, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न हुने आगामी निर्वाचनमा आफ्नो संविधानप्रदत्त मताधिकारको प्रयोग गरी निर्वाचनलाई सफल बनाउन समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गरेका छन् ।
शुभ दीपावलीको अवसरमा दिएको शुभकामना सन्देशमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले नेपालमा राजनीतिक स्थायित्व कायम गरी समयानुकूल नेपाली आवश्यकताको अग्रगामी संविधान निर्माण गर्नु अपरिहार्य रहेको उल्लेख छ । यसका लागि मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सम्पन्न गर्नु अहिले हाम्रो एकमात्र उद्देश्य बनेको रेग्मीको धारणा छ ।
समस्त नेपालीहरूबीच शान्ति, सद्भाव र एकता कायम गरी देशलाई अग्रगामी रूपान्तरणको प्रक्रियामा अभिमुख गराउन तथा नेपालीहरूबीच रहेको सुमधुर सम्बन्धलाई जीवन्त राख्न शुभ दीपावली २०७० बाट सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दै सन्देशमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ ।