भारतमा समेत जेल भोगेका अजय मुक्ति पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १२:१६ मा प्रकाशित

arrestजनकपुरधाम, १६ कात्तिक– विगतमा लामो समयदेखि सशस्त्र समूहका नाममा आतङ्क सिर्जना, हत्या, अपहरणजस्ता आपराधिक कार्यमा संलग्न अजय मुक्ति भनिने दीपककुमार सिंहलाई पक्राउ गरिएको छ । यसअघि उनले २०६३ सालमा भारतमा पनि अपहरण मुद्दामा एक वर्षभन्दा अधिक समय जेल सजाय भोगिसकेका छन् ।

महोत्तरी जिल्ला बथनाहा–४ घर भएका जनतान्त्रिक तराई शक्ति मोर्चा (राजन समूह) सँग सम्बद्ध सिंह आन्तरिक राजस्व कार्यालयका कर्मचारी कुमार निरौला र सशस्त्र प्रहरी हबल्दार मङ्गल हरिजनको हत्या, अशोक सिंहको घरमा बस्ने उपेन्द्र ओझा र इन्जिनियर कृष्णकुमार मिश्रमाथि गोली प्रहार गरी हत्या प्रयास गरेको घटनाका आरोपित व्यक्ति हुन् ।

सिंहमाथि महोत्तरी जिल्लामा मनोहरा गाविस–८ जगाहा पुलनजिक अजयकुमार सिंह र निजका श्रीमती सोनाम सिंह, मधेसी जनअधिकार फोरम कार्यालयभित्र पार्टीका सचिव प्रकाश साह, मनहरा गाविसमा विकासकुमार सिंह र शैलेन्द्र मण्डललाई गोली प्रहार गरी घाइते बनाएको आरोप पनि रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले धनुषा जिल्लाको तुल्सीपारि जबदी गाविस–७ बाट सिंहलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । त्यस्तै उनी २०६७ माघ १० गते हातहतियारसहित पक्राउ परी धरौटीमा रिहा भएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us