जग्गा भाडामा लिँदै सामूहिक च्याउ खेतीतर्फ महिला

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ११:०१ मा प्रकाशित

mushroom-nepalस्याङ्जा, १६ कात्तिक– स्याङ्जाको दक्षिणपूर्वी गाविस सेखामका महिलाले सामूहिक रुपमा अर्कैको जग्गा भाडामा लिएर सामूहिक च्याउखेती सुरू गरेका छन् ।

सुरुका दिनमा आ–आफूलाई अनुकूल पर्ने गरी एक्लै च्याउखेती गर्दै आएका महिलालाई एक्लै बजारको खोजी गर्नुपर्ने झन्झट भएपछि परिवर्तनशील महिला आयआर्जन समूह निर्माण गरी सोही समूहमार्फत व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् ।

च्याउखेती गर्नुपूर्व पराल काट्न र पकाउन झन्झट भएपनि पछि बढीसमय दिन नपर्ने भएकाले र एउटा च्याउको पोकाबाट चार÷पाँच पटकसम्म च्याउ उम्रिरहने हुनाले थोरै लगानीमा राम्रो आम्दानीे लिन सकिएको कृषकले बताएका छन् ।

परिवर्तनशील आयआर्जन समूहमा आबद्ध महिलाले स्थानीय सुशीला मानन्धरको खाली जग्गा १० वर्षका लागि भाडामा लिएर व्यावसायिक रुपमा च्याउखेती थालेको सुरु गरिएको समूहकी अध्यक्ष हरीकुमारी शाहीले बताए । ‘एक्लैएक्लै च्याउखेती गर्दा बजार खोज्नुपर्ने अनि एक्लै झन्झट पनि बेहोर्नुपर्ने भएपछि समूह बनाएर खेती गर्न थालेका हौँ’ अध्यक्ष शाहीले भने, ‘सामूहिक जिम्मेवारी, आपसी सल्लाह छलफल बजारको खोजी गर्न समूहमार्फत निकै सजिलो भएको छ ।’

सेखाम गाविसको आव २०६९÷०७० को लक्षित वर्ग अन्तर्गतको रू १५ हजार, जापनिज संस्था जेएमसिपको रू ४५ हजार गरी जम्मा रू ६० हजार र महिलाको श्रमदानमा गोठ निर्माण गरी व्यावसायिक रुपमा च्याउखेती सुरु गरिएको अध्यक्ष शाहीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us