
धनगढी, १६ कात्तिक– पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका नेताहरु सहमत भए संविधानसभामा मनोनित सभासद बनाउने बताएका छन् ।
चुनावी अभियानका क्रममा कैलालीमा देउवाले भने, ‘उहाँहरु सहमत भएमा मन्त्रिपरिषद्ले संविधानसभामा मनोनित गर्ने सभासद पद दिएर भए पनि सहमतिका साथ अघि बढ्न सकिन्छ ।’ संविधानसभाको चुनावी प्रक्रियाको अहिले विरोध गरिरहेको नेकपा–माओवादीसँग सरसल्लाह गरेर नै संविधान निर्माणको प्रक्रिया अघि बढाउने उनको भनाइ थियो ।
पहिलो संविधानसभा चार वर्षसम्म पनि संविधान निर्माण नगर्दै विघटन भयो, अबको चुनावमार्फत गठन हुने संविधानसभाले संविधान बनाउँछ भनेर जनताले कसरी विश्वास गर्ने भन्ने प्रश्नमा देउवाले विगतमा दलबाट पनि थुप्रै त्रुटि भएकाले अब त्यसो हुन नदिने बताए ।