बहिस्कारलाई हिंसात्मक नबनाउन बैद्यलाई अन्तराष्ट्रिय समुदायको दबाब

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १०:१९ मा प्रकाशित

united-nation-unकाठमाण्डु,कात्तिक– संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले नेकपा–माओवादीलाई निर्वाचन बहिष्कारै गरे पनि शान्तिपूर्वक गर्न आग्रह गरेका छन् । सकेसम्म संविधानसभाको निर्वाचनमा सहयोग पुर्‍याउन भन्दै उनले नसके शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका हुन् ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच समसामयिक विषयमा भेटवार्ता गर्दै समन्वयकर्ता म्याकगोल्डरिकले माओवादीको बहिष्कार कस्तो हुन्छ भनी जिज्ञासा राखेका र आफूहरुले बहिष्कार शान्तिपूर्ण हुनेमा आश्वस्त तुल्याएको जानकारी माओवादीका उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख सिपी गजुरेल दिए ।

उपाध्यक्ष गजुरेलका अनुसाार भेटमा गोल्डरिकले भने, ‘हामीहरु नेपालमा शान्ति र समृद्धि चाहन्छौँ, निर्वाचनमा भाग लिने दलहरुले निर्वाचन आचारसंहिता पालन गरुन् र बहिष्कारमा रहनुभएका तपाईंहरुले शान्तिपूर्ण रुपमा बहिष्कार गर्नुहोस् भन्ने हाम्रो चाहना छ ।’ जवाफमा आफूहरुले निर्वाचनको मिति सार्नुपर्ने अन्यथा यथास्थितिमा हुने निर्वाचनलाई जनता र आफ्नो दलले पनि नमान्ने बताएको गजुरेलले बताए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नेपाल प्रमुखसमेत रहनुभएका म्याकगोल्डरिकले भेटमा पछिल्लो समय माओवादीका नाममा देशभरि भइरहेका आक्रमणका घटनाबारे जिज्ञासा राख्दै त्यस्ता गतिविधि नगर्न माओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us