
काठमाण्डु, १६ कात्तिक– उत्सवकै रुपमा मनाइने रमाइलो पर्व तिहारमा प्रहरीले पटका पड्काउन निषेध गरेको छ । पटकाकै कारण धनजनको ठूलो क्षति हुने भएकाले प्रहरीले पटका पड्काउन निषेध गरेको हो ।
तिहारमा पटका पड्काउन निषेध गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । प्रहरीको निर्देशन विपरित पटका पड्काउनेलाई प्रहरीले पक्राउ गरी कारबाही गर्ने उनले बताए । जहाँ–जहाँ पटका पड्किन्छ, त्यहीँको इलाका प्रहरीले पक्राउ गरी कारबाही गर्ने उपरीक्षक भन्दे बताए ।
देउसीभैलोको चहलपहल छैन
कालीकोट– विगत वर्षहरुमा तिहारको समय नजिकिन नपाउँदै देउसीभैलोको व्यापक रौनकता छाउने कालीकोटमा यस वर्ष त्यस्तो चहल पहल ठ्याक्कै रोकिएको छ । संविधानसभाको निर्वाचनका कारण यस वर्ष विभिन्न युवा क्लब, विद्यालय, सङ्घसंस्थाले आयोजना गर्ने देउसीभैलोमा कसैको पनि चासो बढेको छैन ।
जिल्लाका विभिन्न गाविसबाट मात्र होइन जिल्ला बाहिर अछाम, दैलेख, जुम्लालगायतका ठाउँबाट देउसीभैलोका लागि कालीकोटमा आइपुग्ने विभिन्न समूहको ताँती पनि देखिएका छैनन् । यस वर्ष चुनावी कार्यक्रम र चाडबाडसँगसँगै परेका कारण देउसीभैलोमा प्रभाव परेको बताइएको छ ।
फुकोटका कालीबहादुर महताराले जिल्लामा देउसीभैलोको चमक छुट्टै हुने भए पनि निर्वाचनमा विभिन्न युवा, विद्यार्थी सङ्घ सङ्गठनको चासो बढेकाले देउसीभैलोमा प्रभाव परेको बताए ।