गुडदा गुडदै टायर खुस्किएर जिप दुर्घटना, ६ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ८:१५ मा प्रकाशित

खोटाङ, १६ कात्तिक–खोटाङमा शनिवार बिहान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट जयरामघाटका लागि छुटेको को १ च ६०३६ नम्बरको जिप नुनथला–९ स्थित सल्लाघारीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी जिपका चालक बडहरे–६ का १९ वर्षीय प्रकाश अधिकारी, सहचालक मङ्गलटार–१ का १५ वर्षीय नवराज विश्वकर्मा, बाम्राङ–५ की २० वर्षीया पवित्रा राई, सोही स्थानकी ६५ वर्षीया लक्षीमाया राई, ओखलढुङ्गा–२ का प्रदीप सुनुवार र महोत्तरी बर्दिवास घर भई जिल्ला शिक्षा कार्यालय खोटाङका चालक ३६ वर्षीय खुरबहादुर कटवाल घाइते भएका हुन् । घाइतेमध्ये खुरबहादुर, लक्षीमाया र पवित्राको अवस्था गम्भीर रहेको छ ।
उनीहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत राजधानी लगिएको छ । गुडिरहेको जिपको टायर खुस्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । जिप सडकबाट करिब ४० मिटर तल झरेर रुखमा अल्झिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us