
काठमाण्डु १६ कात्तिक–एकीकृत माओवादीकी नेतृ हिसिला यमी अव अर्थमन्त्री हुन चाहेको बताएकी छन ।
पार्टी सम्बद्ध कृष्णसेन समाचार सेवालाई दिएको अन्तर्वार्तामा यमीले अर्थमन्त्री बन्ने चाहना व्यक्त गरेकी हुन । ‘अर्थ मन्त्रालयमा रहेर काम गर्ने इच्छा छ । किनभने हाम्रो प्रतिबद्धता–पत्रमा पनि अब आर्थिक उडानका लागि तयार होऊ भन्ने कुरा छ ’यमीले भनेकी छिन ‘आर्थिक विकासको काम अर्थमन्त्रालयमा रहेर गर्न सजिलो हुन्छ ।
मेरो इच्छा पनि छ अर्थ मन्त्री भएर समग्र देशको विकास गर्ने ।’ यसअघि यमीले पर्यटन मन्त्रालय,भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी छन् । काठमाण्डु क्षेत्र नम्बर ७ की उम्मेदवार यमीलाई भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
सो प्रसंगमा यमीले भनेकी छन् ‘मसँग कहीं कतै भौतिक सम्पत्ति छैन । मैले भ्रष्टाचार गरेको थाहा भए ठोस प्रमाणसहित आउन चुनौती दिन्छु । चुनावी माहोल मेरो पक्षमा भएकाले विपक्षीहरुले गरेको कुतर्क मात्र हो यो । मेराविरुद्धमा पर्चा बनाएर ठाउँठाउँमा टाँसेका रहेछन् । तर जनताले त्यसलाई च्यात्दै हिँडेका छन् ।’