प्रहरीसँग साइकल पनि छैन सुरक्षा दिन

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ३:१५ मा प्रकाशित

सोलुखुम्बु, १६ कात्तिक–यहाँको प्रहरीसँग सुरक्षाका लागि खट्न सवारी साधनको नाममा साइकलसमेत छैन ।
पाँच वर्ष अगाडि नै जिल्ला सदरमुकाममा सडक यातायात जोडिएको र ३४ मध्ये करिब आधाजसो गाविसमा सडकको ट्र्याक खोलिएको भए पनि प्रहरीसँग सवारी साधनको नाममा जिप वा मोटरसाइकलको त कुरै छाडौँ साइकलसमेत छैन । प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापा भन्छन“जिल्लाका बेनी, गार्मा, नेले, तिङला, केरुङ, नेचा बतासे र नेचा बेतघारीसम्म सवारी साधन प्रयोग गर्न सकिने भए पनि जिल्ला प्रहरी कार्यालयमा कुनै सवारी साधन उपलब्ध नहुँदा समस्या भएको छ ।”
अर्काे संविधानसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सुरक्षा स्थितिलाई अझ मजबुत बनाउन पनि सवारी साधनको आवश्यकता महसुस गरिएको हो । सवारी साधन नहुँदा निर्वाचन सुरक्षार्थ बाटो पुगेको ठाउँमा आउन जान समस्या भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
थापाका अनुसार कसैले अपराध गरेमा सवारी साधन प्रयोग गरेर भाग्न सक्छ तर प्रहरीसँग पैदल दौड्नाको विकल्प नभएकाले समस्या छ । जिल्लामा सवारी साधन गुड्न थालेको यतिका समयसम्म पनि प्रहरीलाई भने कतैबाट सवारी साधन जुट्न नसक्दा निर्वाचन सुरक्षाका लागि झनै समस्या भएको प्रहरीको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us