अपाङ्ग महासङ्घले १७ जिल्लामा चुनाव अनुगमन गर्ने

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते २:२५ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक–राष्ट्रिय अपाङ्ग महासङ्घले अर्काे संविधानसभा सदस्य निर्वाचनमा १७ जिल्लामा अनुगमन गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिका लागि निर्वाचन आयोगले अपाङ्गमैत्री मतदान केन्द्रको स्थापना गरेसँगै अपाङ्गता भएका व्यक्तिलाई कत्तिको सहज हुनेछ भनेर अनुगमन गरिन लागेको महासङ्घका महासचिव टीका दाहालले जानकारी दिए । महासङ्घले अपाङ्गता भएका व्यक्तिलाई नै पाँचै विकास क्षेत्रलाई समेट्ने गरेर अनुगमनका लागि पठाउन लागेको हो । मध्यमाञ्चलमा भने काठमाण्डु र भक्तपुर जिल्ला मात्र परेका छन् ।
यस्तै महासङ्घले दृष्टिविहीनका लागि ब्रेललिपिमा मतपत्र हुनुपर्ने, बहिरा मतदाताका लागि दोभाषेको व्यवस्था गर्ने लगायत माग आयोगसँग गरेको छ । आयोगले हालसम्म अपाङ्गता भएका व्यक्तिका लागि लामबद्ध हुन नपर्ने, टाढा घर भएकालाई अगाडि नै जानकारी गराएर गाडीको व्यवस्था मिलाउन सकिने, दृष्टिविहीनका लागि उनका आमाबुवा वा निर्वाचन अधिकृतले तोकेको व्यक्तिले मत खसाल्नेलगायत व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us