चुनाव संबिधानसभाको,बहस बिकासको

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १:४७ मा प्रकाशित

झापा, १६ कात्तिक-अघिल्लोको तुलनामा अर्काे संविधानसभा सदस्यको चुनावमा जनउत्साह न्यून भएको यहाँका पत्रकारले बताएका छन् ।
बिर्तामोडबाट प्रकाशन हुने ‘पूर्वाञ्चल’ दैनिकका प्रधानसम्पादक मदन ढकालले यसपालिको चुनावमा राजनीतिक दलका नेता र कार्यकर्ता मात्र तातिएको प्रतिक्रिया दिए । चुनावमा मत माग्न उम्मेदवारसँग दलका नेता तथा कार्यकर्ताको हुल हिँडिरहेको भए पनि पहिलो संविधानसभाबाट किन संविधान नबनाएको भनेर सर्वसाधारणले प्रश्न सोधेर हैरान बनाउने गरेको ढकालले बताए ।
दुई वर्षको म्याद तोकिएको पहिलो संविधानसभाले पाँच वर्षमा समेत संविधान लेखनलाई पूर्णताः दिन नसकेका कारण अर्काे संविधानसभा चुनावमा सर्वसाधारणको उत्साह घटेको भद्रपुरबाट प्रसारण भइरहेको ‘नागरिक’ एफएमका समाचार सम्पादक गोपाल गिरीको धारणा छ ।
‘कान्तिपुर’ टेलिभिजनका झापा संवाददाता गणेशमान मुखिया चुनाव जितेर गएका सभासद्ले फेरि पनि संविधान नलेख्ने पो हुन् कि भनेर सर्वसाधारणमा आशङ्का व्याप्त रहेको र निर्वाचन आयोगले प्रचारप्रसारमा कडिकडाउ गरेको हुनाले चुनावी उत्साह बढ्न नसकेको बताउछन ।
बिर्तामोडको ‘कञ्चनजङ्घा’ एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी पनि चुनावमा उत्साह घटेजस्तो देखिए पनि यसपालि प्रचारप्रसार भड्किलो नभएको बताउछन । “दलहरुमा प्रतिस्पर्धा छ, तर द्वन्द्व छैन”, भण्डारी भन्छन–“यसपटकको चुनावमा दलहरुले प्रजातान्त्रिक संस्कार देखाएका छन्, पर्चा, पोस्टर र माइकको प्रदूषण नहुँदा रौनक कम भएको जस्तो लाग्नु स्वाभाविक हो ।”
बिर्तामोडबाटै प्रकाशन हुने ‘नयाँ सन्दर्भ’ साप्ताहिकका सम्पादक तारामणि सापकोटा अघिल्लोभन्दा यसपालि उम्मेदवारको तामझाम कम भएको बताउछन । ठूला आमसभा, रयालीको आयोजना गर्न नपाइने र रङ्गीन पोस्टर र ब्यानर टाँग्न नपाइने भएकाले रौनक कम भएको उनको ठम्याइ छ । उम्मेदवारले मतदाताको घरदैलामै पुगेर मत माग्ने र प्रत्यक्ष कुराकानी गर्ने शैली अपनाएको उनको भनाइ छ ।
पहिलेको जस्तो भड्किलो र खर्चिलो नभए पनि यसपालिको चुनावमा एउटा शक्ति नै बाहिर रहनाले सर्वसाधारणमा असहज स्थितिको महसुस भइरहेको ‘बिबिसी’ नेपाली सेवाका झापा समाचारदाता उमाकान्त खनाल बताउछन । चुनावी बहस संविधानका विषयमा केन्द्रित हुनुपर्नेमा विकासतिर मोडिएको उनको भनाइ छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक माया पकुवाल जसलाई जिताए पनि उही भत्ता खाने र सत्तामा मोज गर्ने त हुन् नि भन्ने भावना सर्वसाधारणमा देखिएको बताउछन ।
‘कान्तिपुर’ दैनिकका दमक संवाददाता चेतन अधिकारी भन्छन–संविधानसभाको पहिलो चुनावमा संविधानसभा नै बन्छ कि बन्दैन भन्ने अन्योल थियो भने यसपालि संविधानसभा बन्छ तर संविधान चाहिँ बन्छ कि बन्दैन भन्ने शङ्का बाँकी छ ।
उम्मेदवार यसपालि मतदाताको घरभित्रै घुसेर फकाइरहेको र पहिलेको जस्तो त्रास नरहेको बताउँदै उनले दलका उम्मेदवारलाई मतदाताले बितेको पाँच वर्षमा संविधान बनाउन किन नसकेको भनेर ¥याख्¥याख्ती पारिरहेको  जानकारी दिए ।
दमकबाट प्रकाशन हुने ‘पूर्व सन्देश’ दैनिकका समाचार संयोजक विष्णु पौडेल राजनीतिप्रति नै जनताको वितृष्णा बढिरहेको उल्लेख गर्दै उम्मेदवार गाउँ पुग्दा कार्यकर्तासँग मात्र भेट हुने गरेको बताउछन । संविधानसभाको चुनाव भनिए पनि बहस चाहिँ विकासको मात्र भइरहेको र राज्यको पुनःसंरचनाका विषयमा जनतालाई खासै ज्ञान नभएको उनको भनाइ छ । उनका अनुसार मतदाताले गाउँमा बाटो, पुल, बिजुलीको लाइन, तटबन्धन चाहिएको बताउने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us