तिहारको दोस्रो दिन आज कुकुर तिहार

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १:२७ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक–आज कुकुर तिहार । सबैै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।kukur-tihar
आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरु पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ काराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।
कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।
परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबैै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।
आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।
तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवद्र्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ ।
तिहारको लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ ।
परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह–अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us