परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १२:५५ मा प्रकाशित

Narayankaji० मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको निर्वाचन वहिष्कार अभियानले समग्र चुनावलाई र एकीकृत माओवादीलाई कस्तो असर पारेको छ ?
–राष्ट्रको कोणबाट हेर्दाखेरी वैद्य समूहलाई पनि चुनावमा ल्याउन सक्दा राम्रो हुन्थ्यो र उहाँहरू चुनावमा आउँदा राम्रो हुन्थ्यो भन्ने कुरा स्वतस्फूर्त छ । त्यसका निम्ति हामीले प्रयास गरेको पनि हो । तर, त्यो सम्भव नभएपछि हामी चुनावमा गइसकेका छौं । चुनाव मंसिर ४ गते सम्पन्न हुँदैछ । यो चुनावमा वैद्यजीहरू नआउँदाखेरि एकीकृत माओवादीलाई पार्टीगत हितको कोणबाट हेर्दा त्यति धेरै नोक्सानी पुग्ने त हामीले देखेका छैनौं । फुटको जुन स्थिति हो त्यसलाई जनताको समर्थन र विभिन्न प्रकारले पार्टीमा प्रवेश गर्नेहरूले क्षतिपूर्ति गरी नै सकेको छ । जहाँसम्म चुनावकै कुरा हो चुनाव नै हुन नसक्ने स्थिति हुँदैन । चुनावलाई उहाँहरूले रोक्न सक्ने स्थिति बन्दैन र चुनावमा जनता सहभागि नहुने स्थिति पनि बन्दैन । तर समग्र राष्ट्रको कोणबाट हेर्दा उहाँहरू चुनावमा सहभागी बनिदिएको भए राम्रो हुन्थ्यो ।
० दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले कति सिट जित्ने अनुमान गर्नु भएको छ ?
–प्रत्यक्षतर्फ यति नै सिट भनेर अहिले मैले तोक्नुभन्दा एकीकृत माओवादीको राम्रो बहुमत आउँछ ।
० दोस्रो संविधानसभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ, तपाईंहरुको तयारी के–कसरी भइरहेको छ ?
–चुनावको तयारीलाई हामीले अहिले व्यवस्थित रुपमा अगाडि बढाएका छौं । चुनावी घोषणापत्रसहित उम्मेद्वारहरु जनताको घरदैलोमा जाने काम गरिराखेका छौं । चुनावी सभाहरू भइराखेका छन । चुनाव प्रचार–प्रसार समितिसहितका विभिन्न समितिले पनि आफ्नो काम गरिरहेका छन् । प्रचार अभियान तीव्रताका साथ अगाडि बढिराखेको छ । यसरी आफ्नो मुख्य एजेण्डासहित जनताको घरदैलोमा जाने काम व्यवस्थित ढङ्गले भइराखेको छ ।
० कुन–कुन कारणले जनताले एकीकृत माओवादीलाई भोट दिनुपर्छ ?
–नेपाली समाजलाई परिवर्तन गर्नका लागि हजारौं हजार नेपाली आमाका छोराछोरीले बलिदान गरेका छन् । त्यो बलिदानबाट भएको परिवर्तनलाई संस्थागत गर्न नै संविधानसभाबाट संविधान निर्माण गर्नुपर्ने हो । त्यसैले परिवर्तनको बाहक शक्ति हुनुको नाताले स्वभाविक रुपमा नेपाली जनताले एकीकृत नेकपा माओवादीलाई अत्याधिक बहुमत दिएर विजय गराउँछन् भन्नेमा हामी ढुक्क छौं । नेपाली जनताले एकीकृत (माओवादी)लाई बहुमत दिए मात्रै संविधान बन्छ भने कुरा पनि थाहा पाएका छन् । त्यसकारणले जनताले एकीकृत माओवादीलाई मतदान गर्ने हो ।
एकीकृत (माओवादी) को संविधान बनाउन आवश्यक बहुमत नभएका कारणले पहिला संविधान बन्न सकेन । अबको संविधानसभाबाट एकीकृत माओवादीलाई संविधान बनाउन पुग्ने बहुमत चाहिन्छ । संविधान बनाउनका लागि जनताले एकीकृत माओवादीको पक्षमा मतदान गर्नुपर्ने हुन्छ ।
० जनताको घरदैलोमा गइरहनु भएको छ ? जनतासँग तपाईहरुले गर्ने प्रतिबद्धता के हुन ?
–हामीले पाँच ओटा विषय लिएर जनतामा गएका छौं । जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउँछौं भन्ने नै मुख्य कुरा हो । यद्यपी नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका निम्ति अझै हामी अगाडि बढ्नु छ । त्यसका निम्ति पनि पहिले प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्ने, त्यसपछि बाँकी संसद्बाट र तलबाट पनि हस्तक्षेप गर्ने र त्यो सँगसँगै विकास र सम्मृद्धिको प्रक्रियालाई पनि अगाडि बढाएर समाजवादी क्रान्तिको दिशातिर बढ्ने हाम्रो कार्यदिशा हो । यो कार्यदिशाका लागि पहिलो काम संविधानसभाबाट संविधान बन्नु पर्छ । र, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको अधिकारको रक्षा हुनुपर्छ । त्यसकारण हामी पहिलो त यो एजेण्डा लिएर जनतामा गएका छौं ।
लोकतन्त्रको मोडेलका बारेमा पनि हाम्रा कुरा राखेका छौं । हामी नयाँ खालको लोकतन्त्रको स्थापना गर्छौ संविधानसभामार्फत् भन्ने हो । त्यो परम्परागत संसदीय लोकतन्त्रभन्दा उन्नत प्रकारको लोकतन्त्र हुन्छ जुन लोकतन्त्र समावेशी, समानुपातिक र सहभागितामूलक हुन्छ । जनताले वास्तविक लोकतन्त्रको उपभोग गर्न पाउँछन् । त्यो औपचारिक लोकतन्त्रभन्दा उन्नत हुन्छ भन्ने हाम्रो पहिलो मान्यता हो ।
दोस्रो, हामीले स्वभाविकरुपमा राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्नलाई उठाएका छौं । तेस्रो, हामी पहिचानसहितको संघीयताको सवाललाई लिएर गएका छौं । चौथो, विकास र समृद्धिको दिशामा देशलाई लैजानको निम्ति पनि हाम्रो नेतृत्व चाहिन्छ भन्ने हो । पाँचौ, पहिला जुन कारणले संविधान बनेन त्यसको निम्ति, संविधान बनाउने दिशातिर जानका लागि एकीकृत माओवादीको एजेण्डालाई समर्थन गर्नेको दुइतिहाई बहुमत र स्थिर सरकारका लागि पूर्ण बहुमतलगायत विषयलाई लिएर हामी जनतामा गइरहेका छौं ।
० तपाईहरुले भोटका लागि जनतासँग गर्नुभएका प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्ने आधार के छन् ?
–हाम्रो पार्टीको आह्वानमा नेपाली जनताका छोराछोरीले बलिदान दिए । त्यो कुरालाई हामी कुनै पनि हालतमा विर्सन सक्दैनौं । त्यसबाट विचलित हुन पनि सक्दैनौ । त्यसकारण हाम्रो पार्टीको औचित्य नै आमूल परिवर्तनको प्रक्रियामा देशलाई लैजादाखेरि मात्र हुन्छ भनेर हामीले बुझेका छौं । त्यसैले हाम्रो पार्टी देश र जनताका निम्ति मुख्य त श्रमजीवि जनताप्रति प्रतिबद्ध छ र क्रान्तिकारी लक्ष्य पूर्तिको दिशातिर अघि बढ्न प्रतिबद्ध छ । यो हामी हर–हालतमा पूरा गर्छौं । यसको निम्ति हामीले क्रमिकताका साथ अगाडि बढ्ने आवश्यकतालाई पनि महसुस गर्छौं । यो कुरा जनतालाई बुझाउँदै हामी अगाडि बढ्छौं । परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन ।
० अहिलेको निर्वाचनमा एकीकृत माओवादीको मुख्य प्रतिस्पर्धी को होला ?
–चुनावी प्रतिस्पर्धाको रुपमा हामीले नेपाली कांग्रेस र एमालेलाई नै लिनुपर्छ तर हाम्रो हाराहारीको प्रतिस्पर्धामा उनीहरु आउँछन् भन्ने हामीलाई लागेको छैन । किनभने नेपाली जनताले राम्रोसँग बुझेका छन् यथास्थितिवादी शक्तिहरूबाट परिवर्तनको नेतृत्व हुन सक्दैन भनेर । जुन शक्तिका कारण संविधान बन्न सकेन, देश पिछडिएको अवस्थामा रहयो, फेरि ती शक्तिहरूलाई जनताले मत देलान र हाम्रो प्रतिस्पर्धामा आउलान् भनेर लाग्दैन । हाम्रो पक्षमा देशैभर उर्लिएको जनलहरलाई हेर्दा पनि हामी अहिले देशैभर जित मात्रै देखिरहेका छौं । हाम्रा प्रतिस्पर्धीको प्रभाव नगन्य मात्रै छ । तै पनि चुनावमा उठेका शक्तिहरूमध्ये नेपाली कांग्रेस र एमालेलाई प्रतिस्पर्धीको रुपमा लिन सकिन्छ तर निकटको प्रतिस्पर्धी भन्न सकिदैन ।
० अहिले देशैभरी चुनावी माहोल कस्तो छ ?
–चुनावी वातावरण असाध्यै राम्रो छ एकीकृत माओवादीको । एउटा लहर नै आउने स्थिति सिर्जना हुँदैछ । जनताले के बुझेका छन् भने संविधान बनाउनका निम्ति संविधानसभाका प्रस्थापक, गणतन्त्रका प्रस्थापक, जनयुद्धकालमै संघीयताको अभ्यासकर्ता र प्रस्थापक आमूल परिवर्तनकारी शक्ति एमाओवादीलाई विजयी नगराउने हो भने संविधान बन्दैन र अहिले संविधान नबन्ने हो भने संविधानसभाबाट कहिलै संविधान बन्दैन । अहिले संविधान नबन्ने हो भने देशमा राष्ट्रियता सङ्कटमा पर्ने, देशले फेरि एकपटक निरङ्कुशताको शिकार हुनुपर्ने र देश फेरि नयाँ ढङ्गको द्वन्द्वको श्रृङ्खलामा जाने स्थिति पैदा हुन्छ । त्यसकारण यो संकटबाट देशलाई बचाउन र प्राप्त उपलब्धीलाई रक्षा र संस्थागत गर्न एकीकृत माओवादीको पक्षमा चुनावी माहोल उर्लिएको छ ।
प्रस्तुतिः चन्द्रमान श्रेष्ठ/कृष्णसेन समाचार सेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us