सर्लाही–४ को निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ६:४६ मा प्रकाशित

काठमाण्डु १५ कात्तिक–निर्वाचन आयोगले सर्लाही क्षेत्र नम्बर ४ मा नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चुरे भावर लोकतान्त्रिक पार्टीका उम्मेदवार थलराज वाग्लेको बिहिवार मृत्यु भएपछि आयोगले उनको हकमा नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । नयाँ कार्यतालिका अनुसार कार्तिक १६ गते उम्मेदवार मनोनयापत्र दर्ता गर्नेदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम एकै दिन हुनेछ ।
रोकिएन आचार सँहिता उलंघन
राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारको क्रममा आयोगबाट स्वीकृत आचारसंहिताको पालना नगरेको पाइएको छ । आयोगका कर्मचारी र प्रहरीको सहयोगमा काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रमा गरेको अनुगमनबाट आचार सँहिता उलंघनमा कमि नआएको देखिएको हो । शुक्रबार भएको अनुगमनपछि  ललितपुरको चापागाउँमा राप्रपा नेपाल र राप्रपाका विभिन्न ब्यानरहरु झिक्न लगाएको, सुनाकोठी, धापाखेल, ठेचो, चापागाउँलगायतका स्थानमा विद्युतको खम्बा तथा सडक किनाराका रुखहरुमा विभिन्न दलहरुले आ–आफ्नो राजनीतिक दलको चिन्ह अंकित झण्डा राखेको पाइएकाले तत्काल हटाउन राजनीतिक दललाई निर्देश दिएको आयोगले जनाएको छ । त्यस्तै कालीमाटी चोक, कीर्तिपुरको देवढोका चोक, नयाँबजार र लगनटोलमा विद्युतका पोल र सडक तथा सार्वजनिक स्थानहरुमा रहेका विभिन्न दलका प्रचार सामग्री पोष्टर, तूल र झण्डाहरु हटाइएको आयोगको भनाई छ । पुतलीसडक, पद्मोदय चोक, चोभार, पाँगाजाने बाटोलगायतका स्थानहरुका पनि विद्युतका पोल र पर्खालहरुमा विभिन्न पार्टीका पोष्टरहरु टाँसेको झण्डाहरु हटाउन स्थानीय प्रहरीलाई निर्देशन दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us