
काठमाण्डु, १५ कात्तिक– नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि जेमी म्याक गोलड्रिकले चुनावलाई निष्पक्ष, हिंसारहित बनाउनुपर्नेमा जोड दिएका छन् । चुनाव सफल पार्न निर्वाचन आयोग र सुरक्षा निकायले गरिरहेको काम सर्हानीय गर्दै उनले निष्पक्ष चुनाव हुनुपर्ने बताए ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालासँगको शिष्टाचार भेटमा गोलड्रिकले वैदेशिक सहायता नीति ल्याउन अर्थ मन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गर्दै चुनावपछि पनि नेपालका विकास प्रक्रियामा राष्ट्रसंघले सघाउने प्रतिवद्धता व्यक्त गरे । नेपालमा हुन गइरहेको संविधानसभाको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताउँदै उनले राष्ट्रसंघले देशका पाँचै क्षेत्रमा परामर्शदाता खटाएको जानकारी दिए ।
भृटमा अर्थमन्त्री कोइरालाले समयमै बजेट आएको र कार्यक्रम पनि स्वीकृत भएकाले विकास खर्च बढ्ने बताएका थिए । अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री कोइरालाले समयमै विकास बजेट सदुपयोग गर्न सरकार सचेत रहेको बताए ।
दाताहरुको चासोको विषय बन्दै आएको वैदेशिक लगानी नीति मस्यौदाको चरणमा रहेको जानकारी दिँदै मन्त्री कोइरालाले कुनै सल्लाह, सुझाव भए दिन आग्रह गर्दै भने,– ‘सवै दलका नेता, पूर्व मन्त्रीहरुसंग पनि यस विषयमा परामर्श गरिएकाले विवाद नआउने निश्चित छ ।’
अर्को एक प्रसंगमा मन्त्री कोइरालाले चुनाव स्वच्छ, निष्पक्ष र समयमै हुने बताउँदै भोट हाल्न पाउने जनताको नैसर्गिक अधिकारको सुरक्षा गर्न सरकार तयार रहेको बताउनु भयो । मन्त्री कोइरालाका अनुसार चुनावलाई मर्यादित बनाउन सरकारका उच्च अधिकारीहरुलाई राजधानीबाहिर पठाउने तय भएको छ ।
युरोपेली प्रतिनिधिमण्डलद्वारा शुभकामना
युरोपेली संसदका सदस्य जिन ल्याम्बर्टको नेतृत्वमा नेपाल भ्रमणमा आएको युरोपेली संसदको प्रतिनिधिमण्डलले निर्वाचनका लागि शुभकामना दिएका छन् ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग शिष्टाचार भेट गर्दै उनीहरुले आउँदो संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ संविधानले नेपालको विकासको नक्सा कोर्ने विश्वास व्यक्त गरे ।
भेटका क्रममा मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको जनाउँदै भयरहित वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना गर्न शान्ति सुरक्षाको व्यवस्था मजबुत बनाइएको जानकारी गराए ।