ठोस निर्णय गर्न चाइना थ्री गर्जेजको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ११:२२ मा प्रकाशित

paschim setiकाठमाण्डु, १५ कात्तिक– कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चाइना थ्री गर्जेज कर्पोरेसनले सो आयोजनाको सम्बन्धमा केही ठोस निर्णय तत्काल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रमुख लगानीकर्ताको हैसियतले थ्री गर्जेजले लगानी बोर्डलाई प्रसारण लाइन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुर्नवास योजना, विद्युत् आपूर्तिको योजना, व्यापार व्यवस्थापन कार्ययोजनका बारेमा तत्काल निर्णय गर्न आग्रह गरेको हो । लगानी बोर्डका सहसचिव मुकुन्द पौडेलका अनुसार लगानीकर्ता गर्जेजले आन्तरिक खपतका लागि निर्माण गर्न लागिएको सो आयोजनाबाट उत्पादित बिजुलीको वितरणको कार्ययोजना पेस गर्न आग्रह गरेको छ ।

गर्जेजको आग्रहबमोजिम बोर्डले ठोस निर्णय गर्ने र छिट्टै आयोजनाको काम अगाडि बढ्ने सहसचिव पौडेलको भनाइ छ । बोर्ड र लगानीकर्ताबीच आयोजनाका सम्बन्धमा पटकपटक छलफल भएको जानकारी दिँदै श्री पौडेलले मुलुकको चाहनाअनुसार पुर्नवास कार्ययोजना, प्रसारण लाइनको निर्माण सम्बन्धमा ठोस निर्णय गर्ने बोर्डको तयारी रहेको बताए ।

सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखी काम अगाडि बढाएको सो आयोजनामा थ्री गर्जेजको सिडब्ल्यू इन्भेस्टमेन्ट कम्पनीले काम गर्ने भएको छ । गत वर्ष सो आयोजनाको सम्बन्धमा नेपाल सरकार र लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us