
बेइजिङ, १५ कात्तिक- प्रशान्त महासागरीय क्षेत्रमा गत साता चिनियाँ सेनाले सैनिक अस्त्र प्रयोगको अभ्यास गरिरहेको समयमा हस्तक्षेप गरी अति खतरायुक्त उक्साहट गरेको आरोप बेइजिङ्ले टोकियोमाथि लगाएको छ र यसका कारण जापानी नागरिकको जीवन जोखिममा पर्ने चेतावनी शुक्रबार दिएको छ ।
प्रशान्त महासागरको पश्चिमी भागमा चिनियाँ नौसैनिक जहाजहरूले अस्त्र प्रहारको अभ्यास गरिरहेको समयमा जापानी पानी तथा हवाई जहाज चिनियाँ जहाजको पछि लागेको जानकारी प्रतिरक्षा मन्त्रालयले दिएको छ । चाइना डेलीले प्रतिरक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनलाई उद्धरण गरी जापानी पानी तथा हवाई जहाजको कार्यले चिनियाँ सामान्य अभ्यासमा हस्तक्षेप गरेको तथा यसबाट चिनियाँ पानी तथा हवाई जहाजको सुरक्षित सञ्चालनमा बाधा उत्पन्न भएको उल्लेख गरेको छ ।
पत्रिकाले यस्तो अवस्थामा सही निर्णय हुननसक्दा दुर्घटना हुनसक्ने र नागरिक घाइते हुनसक्ने चेतावनी दिएको पनि उद्धरण गरेको छ । प्रवक्ता याङले उक्त कुरा प्रतिरक्षा मन्त्रालयको मासिक रूपमा पत्रकार सम्मेलनमा बताएको हो । यस्ता पत्रकार सम्मेलनमा विदेशी आमसञ्चारलाई प्रवेश दिइँदैन ।
चीनले यस विषयमा इन्टरनेसनल म्यारिटाइम अर्गनाइजेसनमार्फत अस्टोबर २३ मा पूर्व चेतावनी दिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीनको यस टिप्पणीले चीन तथा जापानबीचको सम्बन्ध अझै बिग्रनसक्ने अनुमान गरिएको छ । यी दुई मुलुकका नेताबीच पूर्वी चिनियाँ जलक्षेत्रका विषयमा कडा भनाभन भइसकेको छ ।
बेइजिङमा प्रतिरक्षा मन्त्रालयले जापानले आफ्नो चालकविहीन विमानमाथि आक्रमण गरे त्यो युद्धको कार्य हुने चेतावनी दिइसकेको छ । गत साता जापानी प्रधानमन्त्री सिन्जो आबेले आत्मरक्षा स्थलसेनाको समूहलाई सम्बोधन गर्दै वर्तमान अवस्थामा परिवर्तन हुन नदिन जापानले आफ्नो दृढता प्रदर्शन गर्ने बताएका थिए । उनले यसका लागि जापानले गुप्तचरी क्रियाकलाप गर्ने बताएको भनी क्योडो समाचार संस्थाले उद्धरण गरेको थियो । रासस÷एएफपी