
काठमाण्डु, १५ कात्तिक– राष्ट्रकवि माधवप्रसाद घिमिरेले एकीकृत माओवादीका उम्मेदवार हिमाल शर्मालाई चुनावी विजयको अग्रिम बधाई दिएका छन् । चुनावी अभियानका क्रममा राष्ट्रकवि निवास पुगेका शर्मालाई राष्ट्रकवि घिमिरेले भने, ‘तिमिले जित्छौ ढुक्क हौ ।’
चुनावी प्रचारको क्रममा आफ्नो क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा घरदैलौ कार्यक्रम अन्तर्गत शर्मा राष्ट्रकविको घर पुगेका हुन् । आफ्नो घर आइपुगेका युवा नेता शर्मालाई राष्ट्रकवि घिमिरेले युवाहरु चुनिएर गइ अब देशको नीति निर्माण गर्नु पर्ने भन्दै शर्माले नै चुनाव जित्ने विश्वस व्यक्त गरेका थिए ।
राजेश हमालद्वारा पुष्पगुच्छाले स्वागत
घरदैलो अभियानको क्रममा शर्मालाई महानायक राजेश हमाल, चलचित्र निर्माता जगन श्रेष्ठ, नेपाल सरकारका पूर्व सह–सचिव बद्रि श्रेष्ठ लगायतका स्थानीयले पुष्पगुच्छाले स्वागत गरेका थिए । उम्मेदवार शर्मालाई ठाउँ–ठाउँमा स्थानीय जनताहरुले आफ्ना गुनासो व्यक्त गरेका थिए ।
शर्माले जनताको समस्या समाधानका लागि आफू जनतासंगै समन्वय गरेर निरन्तर खट्ने बताएका थिए । उनले यसअघिका उम्मेदवारले व्यक्त गरेर पूरा गर्न नसकेका कुरालाई पनि अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।