
इलाम, १५ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले केही नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेर जाँदा पनि एमालेलाई कुनै असर नपरेको बताएका छन् । उनले भने, ‘पार्टीबाट केही साथीहरू छाडेर जानुभयो, कोही रु पार्टीमा छिर्नुभयो, कोहीले नयाँ पार्टी बनाउनुभयो, तर एमालेलाई कुनै असर परेको छैन ।’
तत्कालिन पार्टी उपाध्यक्ष अशोक राई लगायतका नेताहरुले पार्टी परित्याग गरेको सन्दर्भ जोड्दै खनालले चुनावी कार्यक्रममा बोलेका हुन् । इलाम क्षेत्र नं १ अन्तर्गत चिसापानीस्थित बजारमा आयोजित चुनावीसभामा अध्यक्ष खनालले पहिले पार्टी छाडेर जानेहरु अहिले निरन्तर फर्कने क्रममा रहेको पनि जिकिर गरे ।
जनताको भविष्यको रेखा कोर्ने ऐतिहासिक निर्वाचनलाई बिथोल्नभन्दा पनि सहयोग गरेर अघि बढ्न नेकपा माओवादीलाई खनालले अनुरोध गरेका छन् । माओवादीले चुनाव बहिष्कार गरे पनि उनीहरुको विरोध शान्तिपूर्ण हुनुपर्ने खनालको भनाइ छ ।
एमाले देशको कार्यसूची लिएर अघि बढेकाले यस पटकको चुनावबाट पहिलो शक्ति बन्ने जिकिर पनि उनले गरे । हिमाल, पहाड र तराईलाई मलाएर अघि बढाउनका लागि आफूले सर्लाहीबाट समेत उम्मेदवारी दिएको उनले बताए ।
एमालेको बहुमतः ओली
दमक– नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले संविधान र आर्थिक विकासका कार्यसूची आफ्नो दलसँग मात्र भएका कारण आफ्नो दलले बहुमत ल्याउने जिकिर गरेका छन् ।
नेता ओलीले संविधान निर्माणका लागि एमालेले उठाएका कार्यसूची जनमुखी र विकासमुखी भएको बताए । झापाको दमकदेखि पाँचथरको रवि जोडिने फाल्गुनन्द सडकको अवलोकनपछि उनले दमक–रवि सडकको निर्माणका विषय स्थानीयवासीसँग जानकारी लिएका थिए ।