आरोहीलाई थप सुविधा दिन माग

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ६:१९ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक–नेपालको पर्वतीय पर्यटनकोे संबर्द्धन र प्रवर्द्धनका लागि स्थापित नेपाल पर्वतारोहण संघले चार दशक पार गरेको छ ।

संघको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पर्वतीय पर्यटनको विकासका लागि विभिन्न क्षेत्रबाट योगदान पु्र्‍याउने साहसिक आरोही, अनुसन्धानकर्ता र पत्रकारलाई पुरस्कार प्रदान गर्दै हिमाली वातावरणको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र आरोहीलाई थप सेवा र सुविधा दिन सङ्घलाई आग्रह गरे ।

कार्यक्रममा ‘कुमार खड्गविक्रम साहसिक पुरस्कार’बाट आरोही लाक्पा शेर्पा, ‘स्व. डा. हर्क पर्वतीय पुरस्कार’बाट हिमालयन उद्धार संघ र ‘दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार’बाट राससका वरिष्ठ समाचारदाता विकास लोहनीलाई सम्मान गरिएको थियो । साथै संघका सेवानिवृत्त कर्मचारी एवम् साहसिक आरोही आङ्रिता शेर्पालाई सम्मान तथा संघद्वारा सन् २०१३ मा आयोजना गरिएको आधारभूत पर्वतारोहण तालिम प्राप्त प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष जिम्बानाङ्बु शेर्पाले संघले ३३  हिमचुलीबाट प्राप्त आम्दानीले हिमाली क्षेत्रको विकास, वातावरण संरक्षण, पर्वतीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र पर्वतीय उद्धारलगायत कार्य गर्दै आएको जानकारी दिए ।

वि.सं. २०३० कात्तिक १६ मा स्थापित सङ्घले पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय तथा नुवाकोटको ककनीमा अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति उद्यान स्थापना गरेको छ । ती स्थल विश्वका आरोहीका लागि आकर्षक केन्द्र मानिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us