वैद्य माओवादीका जिल्ला इन्चार्ज एमाओवादीको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १२:०१ मा प्रकाशित

Pyuthan-Mapप्युठान, १५ कात्तिक–एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी प्युठानका जिल्ला इन्चार्ज हरिबहादुर केसीलाई नियन्त्रणमा लिएका छन् । चुनाव विरोधी गतिविधि गरेको र एमाओवादीका नेताहरुको गाडीमा आगजनी गरेको भन्दै केसीलाई बिजुवारबाट शुक्रबार विहान नियन्त्रणमा लिइएको हो ।

एमाओवादी प्युठान क्षेत्र नं. १ का उम्मेदवार नवराज सुवेदीले केसीलाई ‘सोधपुछ गर्न’ नियन्त्रणमा लिइएको जानकारी दिए । ‘उहाँ हामीसँगै हुनुहुन्छ, केही कुरामा सोधपुछ गर्नुछ,’ सुवेदीले भने ।

उम्मेदवार सुवेदीले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी गर्न केसीले नै आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको बताइएको छ । सुवेदीले चुनाव प्रचार प्रसारमा प्रयोग गर्दै आएको भे.१ च. १४०५ नम्बरको गाडीमा विहीबार वैद्य माओवादीका कार्यकर्ताहरुले आगजनी गरेका थिए । जिल्लाको बिजुली गाविस वडा नं. ४ मा कोणसभा भईरहेकोबेला वैद्य माओवादीका कार्यकर्ताले गाडीमा पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

वैद्य माओवादीका प्युठान जिल्ला इन्चार्ज के.सी.ले नै गाडीमा आगजनी गर्न निर्देशन दिएको एमाओवादीको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us