‘माओवादी,काँग्रेस र एमाले मिलेर चुनाव बिथोल्ने षडयन्त्र’

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १७:०९ मा प्रकाशित

पोखरा,कात्तिक –एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र नेकपा–माओवादी मिलेर मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन बिथोल्न खोजेको आरोप लगाएका छन । चुनावी अभियानका लागि मुलुकका बिभिन्न जिल्ला पुगेका प्रचण्डले गोरखा पुगेर त्यस्तो आरोप लगाएका हुन ।
एमाओवादी गोरखाले शुक्रवार आयोजना गरेको चुनाबी सभामा प्रचण्डले देशका कतिपय ठाउँमा चुनाबी कार्यक्रम अबरोध गर्न यी तिनै पार्टी एकजुट भएर लागिपरेको बताए । ‘घोर दक्षिणपन्थी, प्रतिक्रियावादी र उग्रबामपन्थी एकैठाउँमा जम्मा भएर यो चुनाबलाई बिथोल्ने अत्यन्तै गम्भीर षड्यन्त्र हुन थालेको छ’ उनले भने ‘तपाइँहरुले के नसोच्नू भने हामीबाट अलग्गिएका वैद्यजीहरुले मात्रै अबरोध खडा गर्नु भएको हो । म तेह्रथुम गएँ, त्यहाँ निर्बाचन बिथोल्न वैद्यजीका कार्यकर्ता, कांग्रेस र एमालेका कार्यकर्ता मिलेर रातभरि रुख ढाले । पराजित मानसिकतामा पुगिसकेपछि घोर दक्षिणपन्थी र उग्र बामपन्थी एकैठाउँमा हुँदारहेछन भन्ने यो एउटा नमूना हो ।’  डा बाबुराम भट्टराईका साथ प्रचण्ड गोरखा पुग्ने थाहा पाएपछि नेकपा–माओवादीले गोरखा बन्दको घोषणा गरेको थियो । साथै सदरमुकामदेखि आरुघाट जाने बाटोमा बिभिन्न पाँच ठाउँमा रुख ढालेर र ढुंगामुढा थुपारेर अबरोध सिर्जना गरेको थियो । सबै अबरोध बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको टोलीले हटाएको थियो ।
बैद्य माओवादीका एजेण्डा सम्बोधन गर्न सकिन्छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामि संविधानमा बैद्य माओवादीले उठाएका एजेण्डा सम्बोधन गर्न सकिने बताएका छन् ।

मोहन बैद्य नेतृत्वको ने.क.पा.–माओवादीले चुनाव स्थगनका लागि गरेको आग्रहप्रति संकेत गर्दै प्रचण्डले निर्वाचन सार्न सम्भव नरहेकोले अब समझदारीका लागि मन्त्री परिषदले मनोनित गर्ने २६ सिट विपक्षमा रहेका दलहरुलाई दिएर उनीहरुका एजेण्डा संबोधन गरिने बताए ।

तर मंसिर ४ गतेको संविधानसभा निर्वाचन रोक्न सम्भव नरहेको प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले शुक्रबार विहान पोखरामा क्रान्तीकारी पत्रकार संघ तमुवान राज्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो  बताएका हुन्  ।

अव बन्ने संविधानसभामा सहमतिका निम्ति ६ महिना कोशिश गर्ने, सहमति हुन नसकेमा भोटिङ गरेर प्रक्रिया अगाडि बढाउने समझदारी दलहरुवीच भइसकेको प्रचण्डको भनाई थियो । आम नेपाली नागरिकहरुले परिवर्तनको पक्षमा बहुमत दिएमा मात्र स्थिर सरकार र संविधान बन्न सक्ने प्रचण्डले उल्लेख गरे  ।

विभिन्न स्थानमा निर्वाचनमा सहभागी दलहरुवीच विवाद भएकोप्रति संकेत गर्दै प्रचण्डले संयमित, धैर्यता र दृढताका साथ एमाओवादी चुनावमा लागेको बताए । साथै उनले आवेग र उत्तेजनामा नजान कार्यकर्तालाई आफूले निर्देशन दिएको समेत उल्लेख गरे । निर्वाचनमा सहभागी पार्टीहरुले समझदारीका साथ सौहाद्रपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धामा जानुपर्नेमा प्रचण्डको जोड थियो ।

अन्य पार्टीका ठूला नेताहरु हार्न लागेको सूचना आफूलाई रहेपनि त्यस्तो होस भन्ने आफ्नो चाहना नरहेको प्रचण्डको स्पष्टोक्ति थियो । आफूलाई हराउन सबैजसो पार्टीहरु मोर्चाबन्दीमा रहेको भन्दै प्रचण्डले त्यसले कसैलाई फाइदा नहुने टिप्पणी गरे । आफू जहाँ जहाँ गयो सोही जिल्ला बन्द हुँदा पनि मिल्दासम्म गाडीबाट नै निर्वाचन प्रचार प्रसारमा गएको बताए ।

देशको संवेदनशील परिस्थितिमा निर्वाचन विथोल्न खोजे स्वयं निर्वाचन विरोधी दललाई नै घाटा हुने प्रचण्डको दाबी छ । निर्वाचन आचार संहिता पालना गर्नका लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । निर्वाचनको बेला नेकपा–माओवादीको आह्वानमा हुन लागेको बन्द खासै चुनौतिपूर्ण नहुने प्रचण्डको भनाई छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us