चार दलको सिन्डिकेटले निर्वाचन खल्लो : थापा

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ४:३७ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalइलाम, १५ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलको सिन्डिकेटका कारण मंसिर ४ गते हुने संविधानसभा निर्वाचन खल्लो भएको बताएका छन् । एकीकृत नेकपा एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका कारण वैद्य समूहलाई बाहिर राखेर चुनाव गर्न लागिएकाले निर्वाचन खल्लो भएको उनको भनाइ छ ।

शुक्रबार विहान इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा जस्तो ऐतिहासिक निर्वाचनमा सबै दलको अनिवार्य सहभागिता हुनुपर्नेमा जोड दिए । अब कुनै पनि हालतमा चुनाव नरोकिने अवस्थामा पुगेको बताउँदै अध्यक्ष थापाले जनता राप्रपा नेपालप्रति उत्साहित भएको दावी गरे ।

‘जनता निर्वाचनप्रति उत्साहित भएका छन्,’ उनले भने, ‘देशलाई संकटबाट मुक्ति दिलाउन राप्रपा नेपाल एक मात्र विकल्प हो ।’ जुन एजेण्डाको कारण संविधान बनेन उही एजेन्डा लिएर अहिले दलहरू चुनावमा आएकाले उनीहरूलाई जनताले मत नदिने उनको भनाइ छ ।
चार दलप्रति जनताको वितृष्णा पैदा हुँदै गएकाले उनीहरुले नयाँ पार्टी खोजिरहेको थापा बताउँछन् । सरकारले निष्पक्ष र भयरहित तरिकाले चुनाव गराउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालले धेरै स्थानमा विजयी हासिल गर्ने दावी गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us