कास्की क्षेत्र नं. १ मा त्रिपक्षीय भिडन्त

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते २:२० मा प्रकाशित

पोखरा, १५ कात्तिक–मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा अन्य पार्टीका उम्मेदवारहरु पनि प्रतिस्पर्धामा भए पनि प्रतिस्पर्धा भने तीन दलबीच हुने देखिएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष मानबहादुर जिसी र एकीकृत नेकपा माओवादीका युवानेता विष्णु पौडेलबीच नै कडा प्रतिस्पर्धा  हुने मतदाताहरु बताउँछन् । कास्की १ मा राप्रपाका कृष्ण रेग्मी, राप्रपा  नेपालका भीमसेन गुरुङ, अखण्ड नेपालका मीनबहादुर केसी र सङ्घीय समाजवादी पार्टीका मानबहादुर गुरुङ पनि प्रतिस्पर्धामा छन् ।

जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै दलले उम्मेदवारी दिने र सबैभन्दा बढी उम्मेदवार हुने यही निर्वाचन क्षेत्र हो । यहाँ २१ राजनीतिक दलका २१ र एक स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये तीनजना महिला उम्मेदवारले पनि पुरुष उम्मेदवारलाई टक्कर दिँदैछन् । जसमा नेपाल सदभावना पार्टी राजेन्द्र महतो समूहबाट वालुमाया पौडेल, तराई मधेस पहाड हिमाल एकता पार्टीबाट रनमाया गुरुङ र स्वतन्त्र महिला उम्मेदवार चिन्ता गुरुङ रहेका छन् ।

अघिल्लो संविधानसभको निर्वाचनमा  माओवादीका देव गुरुङ विजयी भएका थिए । उनले १७ हजार ४०९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीले १४ हजार ८८६ मत पाएका थिए । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका सभापति यज्ञबहादुर थापाले १४ हजार २९३  मत पाएका थिए । अघिल्लो निर्वाचनका विजयी गुरुङ हाल मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेकाले आगामी निर्वाचन परिणाम कस्को पक्षमा पर्ला भन्ने कौतुहुलता छ ।

क्षेत्र नं. १ मा पूर्वी भेगका १५ गाविस र लेखनाथ नगरपालिकाका सबै १५ वडा पर्दछन् । जसमा कालिका, थुमाको डाँडा, देउराली, नागार्जुङ, पार्चे, भाचोक, माझठाना, मिजुरेडाँडा, सैमराङ, हंसपुर, मौजा, रुपाकोट, सिल्दुजुरे, थुम्की र सिद्ध गाविस पर्दछन् ।

कास्की क्षेत्र नं. १ मा मतदाता सङ्ख्या ५४ हजार ६६० रहेको छ । त्यस क्षेत्रमा पर्ने लेखनाथ नगरपालिकामा  मतदाताको सङ्ख्या २८ हजार ५११ छ । जसमा १२ हजार ७४८ पुरुष, १५ हजार ७६२ महिला र एक जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us