दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ३:०५ मा प्रकाशित

Crowकाठमाण्डु, १५ कात्तिक–हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुक्रबारबाट विधिवत रुपमा शुरु भएको छ । उज्यालो पर्वका रुपमा मनाइने तिहारको पहिलो दिन शुक्रबार काग तिहार मनाइदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार अन्तर्गत काग तिहार मनाउन लागिएको हो ।

कागलाई दैत्यराज यमराजको दूतको रुपमा पूजा गरी विभिन्न खानेकुरा खान दिने गरिन्छ । शुभ–अशुभ दुबै सन्देश बाहकको रुपमा कागलाई लिने गरिन्छ । कागको पूजा नगरी खाना खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यमपन्चकको दोस्रो दिन शनिबार कुकुर तिहार परेको छ । तेस्रो दिन विहान गाई तिहार र बेलुका धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यसैगरी १८ गते गोवर्धन पूजा र म्हपूजा तथा १९ गते भाइ टीका परेको छ ।

नारायणहिटी दरवारमा काग सम्मेलन

गौतम सापकोटाले हरेक बर्ष जस्तै यो वर्ष पनि काग सम्मेलन गर्दैछन् । उनले शुक्रबार काग तिहारको दिन काठमाण्डुको नारायणहिटी दरवारमा काग सम्मेलन गर्न लागेका हुन् ।

अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेर ५० मिनेटसम्म झण्डै दुई हजार कागलाई बोलाएर सम्मेलन गर्ने उनले बताए । काग आएपछि उनीहरुको पूजा गर्ने र कागको महत्व लगायतका विषयमा प्रवचन दिने सापकोटाको भनाइ छ ।

सापकोटाले कागका विभिन्न स्वर निकालेर कागसँग सम्वाद गर्छन् । उनले आफ्नो यो कलाबाट विश्व कीर्तिमान राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us