
रोल्पा, ७ कात्तिक– रोल्पाको थवाङमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले एकीकृत माओवादीको चुनाव प्रचार टोलीमाथि आक्रमण गरेका छन् ।
रोल्पा २ की उम्मेदवार एवम् एमाओवादी केन्द्रीय सदस्य ओनसरी घर्तीको चुनाव प्रचार टोलीमाथि वैद्य कार्यकर्ताले आक्रमण गरेका हुने ।
एमाओवादी टोलीमाथि वैद्य टोलीले ढुंगामुढा प्रहार गरेपछि केहीबेर थवाङको वातावरण तनावग्रस्त बनेको थियो । आक्रमणबाट उम्मेदवार घर्ती सकुशल छिन् । वैद्य टोलीको आक्रमणको एमाओवादी टोलीले प्रत्याक्रमण गरेको छ ।
त्यसक्रममा दुई पक्षबीच दोहोरो ढुंगा हानाहान भएको थियो । एमाओवादीको पूर्वनिर्धारित चुनावी सभा बिथोल्ने योजनासहित वैद्य माओवादीका कार्यकर्ता थवाङमा जम्मा भएर बसेका थिए ।
घटनामा एमाओवादी कार्यकर्ता ५० वर्षीय पूर्णबहादुर रोका र ४० वर्षीय दमन विक घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।