
चितवन, ७ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् ।
प्रेस युनियन चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा कोइरालाले देशव्यापी रुपमा आफ्नो पार्टीका पक्षमा जनलहर आएको बताए ।
मुलुकमा लोकतन्त्र बहालीका लागि भएका आन्दोलनमा पटकपटक नेतृत्व गरकाले यसपटक जनताले काँग्रेस छान्ने कोइरालाको दाबी छ । उनले काँग्रेस शान्ति स्थायित्व र लोकतन्त्रको नारा लिएर निर्वाचनमा जान लागेको उल्लेख गरे ।
अर्को एक फरक प्रसंगमा लोकतन्त्रमा विरोध गर्न पाउने अधिकारको आफूले सम्मान गर्ने भए पनि निर्वाचन बहिस्कारको नाममा कानुन हातमा लिनेलाई सुरक्षाकर्मीले तह लगाउने चेतावनी दिए । ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि कोइरालाले चितवन–४ र बाँके–३ बाट उम्मेदवारी दिएका छन् ।