
संखुवासभा, ७ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका संखुवासभा सह-सचिवसहित दुई दर्जनभन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरु शुक्रबार एकीकृत माओवादी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ । यद्यपि उनीहरुले आफूहरु स्वतन्त्र बामपन्थीका रुपमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने बताएका छन् ।
पार्टी त्यागको घोषणा गर्नेमा जिल्ला सससचिव मनकुमार भण्डारी, राज्य समिति सचिवालय सदस्य दिव्यराज बराल, सचिवालय सदस्य एवम् युवा स्वयम् सेवकका जिल्ला उपाध्यक्ष अदलकुमार कुलुङ, जिल्ला सचिवालय सदस्य शंकर ढकाल, जिल्ला सचिवालय सदस्य नगर हरि जोशी र जिल्ला सचिवालय सदस्य देवराज गिरीलगायत छन् ।
उनीहरुले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीको मुख्य नेतृत्वमा ढुलमुले चरित्र रहेकाले राष्ट्रिय राजनीतिमा उल्लेख्य योगदान दिन नसकेको बताएका छन् ।
नेकपा–माओवादीले भने पार्टी त्यागको घोषणा गर्नेहरु पार्टीविरोधी गतिविधिमा लागेकाले निष्काशन गरिएको दाबी गरेको छ । जिल्ला सचिव आरपी किरातीले विज्ञप्ति जारी गरी उनीहरुले पार्टी र क्रान्तिविरोधी गतिविधि गरेकाले हटाइएको बताएका छन् ।