
काठमाण्डु, ७ कात्तिक– डा. चित्रप्रसाद वाग्लेको विहीबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित वाग्लेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
एपेन्डिक्स क्यान्सरबाट पीडित वाग्लेलाई श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिएपछि गत आइतबार आईसीयुमा भर्ना गरिएको थियो ।
भारतको नयाँदिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव नभएपछि डा. वाग्ले गत भदौमा १३ महिनाको उपचारपछि नेपाल फर्किएका थिए । उनी अन्तिम विकल्पको उपचार अमेरिका वा क्यानडा गएर गर्न चाहन्थे । तर, भारतमा करीब ५० लाख रुपैया खर्च गरेका वाग्लेको कमजोर आर्थिक अवस्थाका कारण थप उपचार सम्भव भएन ।
उनले दिल्लीमा ६ पटक इम्युनोथेरापी र १२ पटक केमोथेरापी गराएका थिए । जीवनभरको कमाइ र केही साथीभाईले गरेको सहयोगबाट उनले उपचार गराउँदै आएका थिए ।
उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।