सप्तरीमा उम्मेदवार कुटिए

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ५:१९ मा प्रकाशित

राजविराज, ७ कात्तिक–सप्तरीको निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा माले समाजवादी पार्टीका उम्मेदवार सिंहेश्वर साहलाई चारजनाको समूहले बुधबार राति निर्घात कुटपिट गरेको छ । कुटपिटबाट घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

चुनाव प्रचारप्रसार सकेर घर फर्केका साहलाई स्थानीय श्रवण चौधरी, जयनारायण चौधरी र भिखन चौधरीसहितले कुटपिट गरेका थिए । कुटपिटको आरोपमा प्रहरीले श्रवण चौधरीलाई पक्राउ गरिसकेको छ ।

कुटपिटबाट उम्मेदवार साहको टाउको, खुट्टासहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र नाकबाट रगतसमेत बग्ने गरेको नेकपा माले समाजवादीका जिल्ला अध्यक्ष धनवीर साहले जानकारी दिए । अध्यक्ष साहले कुटपिट गर्नेहरूमाथि कडा कारबाहीको माग समेत गरेका छन् । कुटपिट गर्नेहरू फोरम लोकतान्त्रिकका कार्यकर्ता भएको घाइते साहले बताए । फोरम लोकतान्त्रिक क्षेत्र नम्बर ५ बाट छेदीलाल चौधरीले उम्मेदवारी दिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us