चुनावमा पैसा बाँड्नेलाई बहिष्कार गर्ने निर्णय

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ३:०७ मा प्रकाशित

पर्वत, ७ कात्तिक–पर्वतको क्याङ गाविसका बासिन्दाले चुनावमा आर्थिक प्रलोभन दिने र झुठा आश्वासन बाँड्ने राजनीतिक दल र ति दलका उम्मेदवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेका छन् । धन र बलका भरमा मतदातालाई प्रभावित गर्ने क्रम बढ्ने सङ्केत मिलेपछि सर्वदलीय बैठकले सामाजिक बहिष्कार गरी गाउँ पस्न नदिने निर्णय गरेको हो ।

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा मालेको गाविसस्तरीय सर्वदलीय बैठकले जनतालाई भेडाबाख्रा झैं किनबेच हुनबाट रोक्ने र निष्पक्ष रुपमा आफूले चाहेको उम्मेदवारलाई मत दिन यस्तो निर्णय गरेको पूर्वगाविस अध्यक्ष भीम पुनले जानकारी दिए । ‘सोझा गाउँलेलाई भेडाबाख्राजस्तो चुनावमा खरिद गर्ने चलन यसपटक दोहोरिन हुँदैन भन्नेमा सर्वदलीय सहमति भयो,’ उनले भने, ‘जनजाति किनबेच गरेर आफू चुनाव जित्ने अनि गाउँका लागि सिन्को नभाँच्ने प्रवृत्तिका विरुद्ध जनता एक भएका छन् ।’

क्याङ, मगर जातिको ९० प्रतिशतभन्दा बढी बाहुल्यता भएको बस्ती हो । यहाँका युवा क्बल, आमा समूहलगायतलाई दलका उम्मेदवारले आर्थिक प्रलोभन देखाउँदै आएको गुनासो उनीहरुको छ । अघिल्ला निर्वाचनमा दलहरुले मतदाता किन्न अनेक बहाना अपनाउने गरेका थिए । युवा क्लब, आमा समूह, विद्यालय, स्कुल, बिजुली, सामुदायिक भवनलाई सहयोगका नाममा चन्दा दिने र चुनावमा मत लिने प्रतिस्पर्धा हुने गरेको निष्कर्ष पनि सर्वदलीय बैठकले निकालेको छ । गाउँमा चुनाव बिथोल्न खोज्नेलाई कारबाहीका लागि हरेक वडामा सर्वदलीय युवा दस्ता गठन गर्ने निर्णयसमेत गरिएको छ । दलका युवा सम्मिलित सर्वदलीय युवा दस्ताले नियमित रुपमा गाउँ अनुगमन गर्नेछ । युवाले कुनै दल र उम्मेदवारले पैसा वा अन्य प्रलोभनमा पारेको थाहा भएमा सामाजिक बहिष्कार गरी गाउँबाट धपाउने योजनासमेत बनाइएको छ ।

केही दिनयता ठूला दलले गाउँगाउँमा चुनावी अभियानका क्रममा युवा, आमा समूहलाई प्रभावित पार्न आर्थिक प्रलोभन देखाउन थालेका छन् । लाखाँै रुपैयाँको आश्वासन बाँड्न थालिएकाले निर्वाचन आचारसंहितासमेत उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन भए पनि जिल्ला निर्वाचन कार्यालयले रोक्नका लागि प्रभावकारी काम नगरेको आरोपसमेत लाग्दै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us