मकै र धानको उत्पादन साठी प्रतिशत कम

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ३:०३ मा प्रकाशित

जाजरकोट, ७ कात्तिक–अघिल्लो वर्षको भन्दा यसपालि मकै र धानबालीको उत्पादनमा ह्रास आएपछि जाजरकोटका किसान मर्कामा परेका छन् । मकै र धानबाली लगाउने समयमा पानी नपर्दा उत्पादनमा ६० प्रतिशत गिरावट आएको किसानले बताएका छन् ।

जाजरकोटका किसानले आकाशेपानीको भरमा खेती लगाउने गर्दछन् । उत्पादनमा गिरावट आएपछि जिल्लाका किसान विभिन्न सङ्घसंस्थालगायत सरोकारवाला निकायसँग खाद्यान्न आपूर्तिका लागि माग गर्न थालेका छन् । समयमा पानी नपर्नु, लामो समयसम्म खडेरी पर्नु लगायतका समस्याका कारण जाजरकोटका किसानले निर्धारित समयमा खेती लगाउन पाएनन् । भिरालोे जमिनसँगै सिँचाइको सुविधा नहँुदा किसानलाई बाली लगाउन थप समस्या भएको खगेनकोट–५ की विष्णु खत्रीले बताइन् । समय गर्जेपछि लगाएको धानबालीमा रोग लाग्दा उत्पानदमा कमी आएको अर्का किसान हरि नेपाली बताउँछन् ।

धानको बाला कुहिने, थोत्रो हुने लगायतका समस्या धानबालीमा आएको थियो । पटकपटक खाद्य सङ्टक बेहोर्दै आएको जाजरकोट जिल्ला यसपालि पनि फेरि खाद्य सङ्कटमा पर्ने निश्चित भएको किसानले बताएका छन् । पोहर सालभन्दा दोब्बरले उत्पादनमा गिरावट आएको किसानको भनाइ छ । जाजरकोटको मुख्य बाली मकैलाई लिइन्छ । मुख्य बालीकै उत्पादन आधा घटेपछि यहाँका किसान अब यो वर्ष के खाने भनेर चिन्तामा रहेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय जाजरकोटका वरिष्ठ कृषि विकास अधिकृत यामनारायण पौडेलले यस विषयमा छलफल भइरहेकाले राहत माग गर्ने योजनामा रहेको जानकारी दिए । उनका अनुसार अहिले आएको कार्यक्रमबाट राहत दिन नमिल्ने भएको कारण तत्काल केन्द्रसँग माग गर्ने तयारी भैरहेको छ ।

बर्सेनि खाद्यान्न सङ्कट हुने जाजरकोटमा नेपाल खाद्य संस्थानको विभिन्न चार ठाउँमा रहेका खाद्य डिपोमा चामल पु¥याउन सके केही हदसम्म खाद्य सङ्कटलाई टार्न सकिने सरोकारवालाको भनाइ रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us