
काठमाण्डु, ६ कात्तिक– मुटुको बिरामी दोलखा सुन्द्रवाती–९ की सुनिता थामीलाई रकम अभावका कारण अस्पताल भर्ना गर्न सकिएको छैन । थामीको मुटुको दुवै भल्व विग्रिएको छ ।
१० असोजमा उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल भर्ना गरिएकी उनलाई थप उपचारका लागि गंगलाल मुटु अस्पताल रिफर गरिएको छ ।
भर्ना गर्नका लागि मात्रै दुई लाख रुपैया डिपोजिट गर्नु पर्ने अस्पताल प्रशासनले जानकारी दिएपछि उनलाई आफन्तको डेरामा राखिएको छ । सुनिताका श्रीमान भीमबहादुर थामीका अनुसार पाटन अस्पतालमा १५ दिन उपचार गर्दा एक लाख रुपैयाँ सकिएको बताए ।
उनले भने,‘१५ दिन पटन अस्पतालमा राखियो । ऋण गरेर ल्याएको एक लाख रुपैयाँ सकियो । गंगालालमा लैजानु भनेको छ डाक्टरले । भर्ना गर्न पैसा छैन ।’ भीमबहादुरका अनुसार सुनिताको उपचार गर्न सात लाख रुपैयाँ खर्च हुने अस्पतालले जानकारी दिएको छ ।
आँखा भरिआँसु बटुल्दै उनले भने,‘भल्व फेरे बाँच्छ रे । भर्ना गर्नसमेत पैसा नभएपछि अव मर्छ क्यारे । गरिबलाई यस्तो रोग किन लागेको होला ।’