झलनाथ स्वेच्छारी र गुटवादी: ओली

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १४:३८ मा प्रकाशित

विराटनगर, ६ कात्तिक– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले अध्यक्ष झलनाथ खनालमाथि स्वेच्छाचारी र गुटवादीको आरोप लगाएका छन् ।

KP-Oliविराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा ओलीले समानुपातिक उम्मेदवारको सूची फेरेकामा खनालप्रति कटाक्ष गरे । उनले पार्टीमा त्याग गरेका इमान्दार र पूरानालाई बाइपास गरेर गुटवाद, नातावाद र कृपावादका आधारमा समानुपातिक उम्मेदवार छनौट गरिएको बताए ।
बन्दसूचीमा रहेका आफू पक्षधर नेता–कार्यकर्ताको नाम हटाइएकामा असन्तुष्टि जनाउँदै ओलीले पार्टीमा यसअघि नै लिखित असहमति दर्ज गरिसकेका छन् । उनले एक माघले जाडो नजाने भन्दै समानुपातिकमा नपरेका आफू पक्षधर कार्यकर्तालाई संयम रहन आग्रह गरे ।
एमालेले यसअघि तयार पारेको सूचीमा विवाद भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललाई समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने जिम्मा दिएको थियो ।
‘पार्टीको मुख्य नेतृत्व नै स्वेच्छाचारी, गुटगत, नातावाद र कृपावादका आधारमा चलेको छ’, ओलीले भने, ‘इमान्दार र पार्टीमा त्याग गरेका साथीहरुलाई मेरो आग्रह छ, एक माघले जाडो जाादैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us