असिनापीडित किसानले राहत मागे

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते २:३१ मा प्रकाशित

जुम्ला, ६ कात्तिक–असिनापीडित हाँकु गाविसका जनताले राहतको माग गर्र्दै जिल्ला प्रशासन जुम्लामार्फत मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । असिनाले धानबालीमा क्षति हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएको भन्दै हाँकुका असिनापीडितले दाना झरेका धानका डाँठका साथ ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले मङ्गलबार जिल्ला प्रशासन तथा कृषि विकास कार्यालय अगाडि नारा जुलुस पनि गरेका थिए । सो गाविसका स्थानीय अगुवा अमर रोकायाले प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सम्पूर्ण असिनापीडितको हस्ताक्षर सङ्कलनसहितको ज्ञापनपत्र बुझाउँदै ३३० घरधुरीका एक हजार ८५ रोपनीको धान सखाप भएकाले आफूहरुको जिउने आधार सकिएको गुनासो गरेका थिए ।  यसप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहतका लागि पहल नगरे विरोधका कडा कार्यक्रम ल्याइने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला कृषि विकास कार्यालयले क्षतिको यकिन मूल्याङ्कन प्रतिवेदन ल्याउँदै गरेको र सो प्रतिवेदन आउने बित्तिकै नेपाल सरकारमा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले दसैँका कारण पीडितको समस्या समयमा नै सम्बोधन गर्न नसकिएको भन्दै राहतका लागि कार्यालयले गम्भीर पहल गर्ने तथा कृषि मन्त्रालयबाट आउने कार्यक्रममा हाँकु गाविसलाई पहिलो प्राथमिकता दिइने वचनबद्धता जनाएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us